nmb bank

गृहपृष्ठ नेपाल बुद्धिचाल महासङ्घले राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल बुद्धिचाल महासङ्घले राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल बुद्धिचाल महासङ्घले राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगितासहित महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले यही वैशाख १६ देखि १८ गतेसम्म नेसनल रापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप गर्ने र प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौँस्थित क्षेत्रपाटी क्लबलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा २६औँ खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेसनल ‘बी’ छनोट प्रतियोगिता सञ्चालन गर्ने, राष्ट्रिय बी छनोट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकरभिट्टास्थित नाइट चेस क्लबलाई प्रदान गर्ने निर्णय गरेको छ । यस प्रतियोगिताबाट पुरुष तथा महिला नौ नौ जना खेलाडी नेसनल ‘ए’ टोलीको लागि छनोट हुनेछन् ।

यसैगरी नेसनल ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन गर्ने, यस राष्ट्रिय प्रतियोगिताबाट समान चार चार जना खेलाडीहरू उज्बेकिस्तानमा हुने ४७औँ चेस ओलम्पियाडका लागि छनोट गरिने छ ।

महासङ्घले वार्षिक रूपमा नियमित गर्दै आएको सात वटा विधागत राष्ट्रिय प्रतियोगिताहरू मध्ये जेठ १० देखि १२ गतेसम्म ललितपुरमा जुनियर खेलाडी राष्ट्रिय चेस च्याम्पियनसिप आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै महासङ्घले आफ्नो विधान अन्तर्गत नियमित साधारणसभा मधेश प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने, साधारणसभाका लागि निर्धारित समयसिमा भित्र जिल्ला अधिवेशन सम्पन्न गरेका २० जिल्लालाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

जम्मा ५५ जिल्ला सङ्घमध्ये अधिवेशन हुन नसकेका जिल्लाको हकमा बुद्धिचाल खेलको गतिविधि भए नभएको अनुगमन गरी मुल्याङ्कनका आधारमा जिल्ला बुद्धिचाल सङ्घ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकले अनुगमन उपसमितिमा अध्यक्ष महर्जन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहने गरी उपसमिति गठन गरेको छ।

यस उपसमितिले एक हप्ता भित्र रिपोर्ट तयार गरी वैशाख १२ गते बस्ने कार्यसमितिको बैठकमा जिल्लाहरूको तदर्थ समिति गठनको लागि प्रतिवेदन पेस गर्ने छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु