गृहपृष्ठ कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन
कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन
ललितपुर । नेपाली कांग्रेसका नेता सानुबाबु महर्जनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्नुपर्ने बताएका छन् ।
शुक्रबार सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि महर्जनले विगतमा पनि अदालतको फैसलाहरु स्वीकारेकाले अब पनि स्वीकारेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।
नेविसंघको ललितपुर सभापति हुँदै केन्द्रीय समितिकै कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका महर्जनले पार्टीको कानुनी कुरा मिलेपनि राजनीतिक रुपमा मिलाउन गगन थापाले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
‘अदालतको निर्णय त आइसक्यो, अब मन मिल्नुपर्यो । संस्थापन र प्रजातान्त्रिक भन्ने पूरानो नजिर अब बसाउनु हुँदैन । नियमित महाधिवेशनमा जानुपर्छ भनेर सबैतर्फबाट आग्रह हुँदापनि शेरबहादुर देउवाले पछि धकेल्दै जानुभयो, जसका कारण आज पार्टी यो अवस्थामा आइपुग्यो । चार व्यक्तिका कारण कांग्रेस कमजोर अवस्थामा पुग्यो,चुनावको परिणामबाट प्रष्ट छ हामी कहाँ छौं भन्ने । त्यसैले अब मिलेर जानुपर्छ,’ उनले भने ।
कांग्रसीजनहरुको मन मिलाउनका लागि देउवा र थापा संवादमा बस्नुपर्ने उनको धारणा छ । पूराना र नयाँ पुस्तालाई समेटेर पार्टी एकढिक्का हुनुपर्ने महर्जनको जोड छ । ‘गगन थापा र मैंले करिब दुई दशक सँगै काम गरेका छौं । उहाँ नेविसंघ केन्द्रीय समितिमा हुँदा म ललितपुर सभापति थिएँ । एक आपसका बारेमा जानकार छौं । उहाँ वा मेरो उमेरका कार्यकर्ताहरु अहिले कुन र कस्तो अवस्थामा छौं, त्यसबारे उहाँले प्रष्ट बुझ्नुभएको होला अर्थात बुझ्न जरुरी छ,’ महर्जनले अगाडि भने, ‘पूराना नेताहरुलाई सल्लाहकारमा राख्ने र समकालिनलाई साथमा लिएर उचित अवसर दिने जिम्मा उहाँको काँधमा छ । जसका कारण मात्र कांग्रेस संगठित हुन्छ । सम्मान दिने र फिल्डमा पठाउने नेता कार्यकर्ताहरुका बारेमा उहाँले बुझ्नुपर्छ । यतिबेला २८ बर्षका व्यक्ति मन्त्री भइसके, हामीजस्तालाई टिकट पाउँनै मुस्किल भइरहेको छ तर हाम्रै पार्टीका ७७ बर्षीय नेताहरु आजपनि अवसर खोजीरहनु भएको छ । त्यसैले कसलाई कस्तो जिम्मेवारी दिने कुरा सभापतिको हातमा छ ।’
ललितपुरमा पार्टीको सक्रिय भूमिका र समाजसेवामा समेत देखिने गरेका महर्जनले कांग्रेसको १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिए । ‘आज क्रियाशीलताका विषयमै विवाद उत्पन्न भइरहेको छ । नेताको चाकरी नगरी पार्टीको संगठन विस्तारमा भुइँमान्छेका रुपमा खटिरहेकाहरुलाई कस्तो अवसर दिनेभन्ने कुरामा पार्टी सभापति प्रष्ट हुनुपर्छ,’ उनको धारणा छ ।
महर्जनले पार्टी सभापतिको कलम कसरी चलाउने, कसलाई कुन जिम्मेवारी दिनेभन्नेबारे स्पष्ट मापदण्ड हुनुपर्नेमा जोड दिए । ‘सभापतिज्यूको कलमले कस्तो भाषा लेख्छ, के लेख्छ त्यसले कार्यकर्ताको न्याय पनि हुन्छ र भाषा मिलेन भने मृत्युपनि हुन्छ । साथै कलमकै कारण कसैको जीवनपनि पाउने भएकाले उचित निर्णय गर्न सक्नुपर्छ,’ उनको भनाइ छ ।
अबको पाँच बर्षभित्र कांग्रेसलाई पहिलो पार्टी बनाएर सत्तामा फर्काउन सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा महर्जनले आग्रह पनि गरे ।
प्रकाशित समय : ०९:५४ बजे



















