nmb bank

गृहपृष्ठ भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

हेटौँडा । मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्। लामो समयदेखि सो क्षेत्रमा खटिँदै आएका उनीमाथि विगतदेखि नै यस्तै व्यवहार दोहोरिएको दाबीसमेत गरिएको छ ।

स्थानीयका अनुसार सवारी जाँचको नाममा अनावश्यक रूपमा गाडी रोक्ने, चालकहरूलाई दुःख दिने र त्रास सिर्जना गर्ने कार्य नियमितजस्तै भएको छ । अटो, एम्बुलेन्स तथा ईभी सवारीसँग मासिक रूपमा रकम माग गर्ने र ठुलो रकम जरिवाना तोकेर रसिद नदिने गरिएको आरोप पनि उठाइएको छ । यद्यपि, यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छन् ।

होटेल व्यवसायी पुनमजर्गा मगरका अनुसार रोशननाथले यसअघि करिब सात वर्ष पतैया क्षेत्रमा कार्यरत रहँदा पनि यस्तै दादागिरी देखाएको भन्दै त्यस बेला समेत गुनासो उठेको थियो । ‘पहिलेदेखि नै यस्तै व्यवहार देखाउँदै आएका व्यक्ति हुन्,’ उनले दाबी गरिन् ।

स्थानीयवासीले रोशननाथले आफूलाई शक्तिशाली व्यक्तिसँग जोडेर धम्की दिने गरेको आरोप पनि लगाएका छन् । ‘राप्तीनगरका ट्राफिक एसपी मेरो आफन्त हो, मलाई कसैले सरुवा गर्न सक्दैन,’ भन्दै स्थानीयलाई त्रसित बनाउने गरेको गुनासो आएको छ ।

स्थानीय राजकुमार वाइबा, सानो लामाथिङ र शुभम् मैनालीलगायतले यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ट्राफिक प्रहरी कार्यालयमा पटक–पटक उजुरी दिएको बताए पनि अहिलेसम्म कुनै ठोस कारबाही नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार प्रदेश स्तरसम्म जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिँदा सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास कमजोर हुँदै गएको छ ।

लगातार गुनासो आइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन् ।

यस विषयमा आरोपित ट्राफिक हवलदार रोशननाथ तथा सम्बन्धित कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु