गृहपृष्ठ नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
पर्सा । बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ ।
जामुनी ब्यारेजमा हेडवक्र्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन् ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिए । ‘‘जामुनी ब्यारेजको हेडवक्र्सलगायत संरचना धेरै पहिला नै तयार भइसकेको थियो’’, उनले भने, ‘‘हेडवक्र्समा गेटलगायत संरचना नहुँदा सिँचाइको नहरले पूर्णता पाएको थिएन् । केही समय अघि बोलपत्र प्रक्रिया अघि बढेसँगै अब सिँचाइले पूर्णता पाउने आशा जगाएको छ ।’’
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जामुनीमा हेडवक्र्समा अटोमेसन गेटलगायत संरचना निर्माणका लागि विसं २०८२ असार २० गते निर्माण कम्पनीसँग १२ करोड १२ लाख तीन हजार ८१७ लागतमा ठेक्का सम्झौता गरेको थियो । सो ठेक्का सम्झौताअनुसार हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना निर्माण विसं २०८४ साउन २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले हेडवक्र्सको अटोमेसन गेटलगायत संरचना तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिएका छन ।
निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले अहिलेसम्म अटोमेसन गेटलगायत संरचना निर्माणको काम ३० प्रतिशत भएको जानकारी दिए । ‘‘हेडवक्र्सको गेटलगायतका संरचनाको निर्माणको काम भइरहेको छ’’, उनले भने, ‘‘ठेक्का सम्झौताअनुसार नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’’ जामुनी सिँचाइबाट बाराको पूर्वी र रौतहटको गरेर करिब साढे नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने बताइन्छ । सो नदीबाट ७५० क्यूसेक पानी वितरण गर्न सकिनेछ ।
प्रकाशित समय : १२:०७ बजे



















