गृहपृष्ठ स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध
स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध
कडा बन्दुक नियन्त्रणका लागि परिचित टर्की एकै साता दुईवटा विद्यालय गोलीकाण्डले स्तब्ध बनेको छ । पछिल्लो घटनामा दक्षिणी कहरामानमारस प्रान्तस्थित एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
गृहमन्त्री मुस्तफा सिफ्ट्कीका अनुसार घाइतेमध्ये छ जना सघन उपचार कक्षमा छन् र तीन जनाको अवस्था गम्भीर छ । घटनाका आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत १४ वर्षीय किशोर रहेको पुष्टि गरिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनले आफ्नै बुबाको बन्दुक झोलामा लुकाएर विद्यालय ल्याएका थिए ।
कहरामानमारसका गभर्नर मुकेरेम उनलुरले आक्रमणको विवरण दिँदै उक्त विद्यार्थीले दुई वटा कक्षाकोठामा प्रवेश गरेर जथाभावी गोली चलाएको बताए । “उनले अनियमित रूपमा गोली हाने, जसका कारण धेरै विद्यार्थी र शिक्षकहरू घाइते तथा मृतक भए”, उनले भने ।
घटनापछि सार्वजनिक भएको भिडियोमा विद्यार्थीहरू ज्यान जोगाउन विद्यालय भवनको पहिलो तलाबाट हाम फाल्दै भागेको देखिन्छ । करिब डेढ मिनेटको उक्त भिडियोमा कम्तीमा १५ राउन्ड गोली चलेको आवाज सुनिन्छ । अन्य विद्यार्थीहरू विद्यालयको आँगन हुँदै भागिरहेका दृश्यले घटनाको भयावहता झल्काउँछ ।
गभर्नर उनलुरका अनुसार आक्रमणकारी एक पूर्वप्रहरी अधिकारीका छोरा थिए र उनीसँग पाँचवटा बन्दुक तथा सातवटा म्यागजिन थिए । घटनाक्रमकै बीच उनको मृत्यु भएको पुष्टि गरिएको छ । “उनले आफैँलाई गोली हानेका हुन् कि अराजक अवस्थामै मृत्यु भयो भन्ने अझै स्पष्ट भएको छैन”, उनले भने ।
प्रहरीले घटनापछि आक्रमणकारीका बुबा उगुर मर्सिन्ली र आमालाई नियन्त्रणमा लिएको जनाएको छ । साथै, किशोरको सामाजिक सञ्जाल गतिविधि जाँच गर्दा उनले अमेरिकी सामूहिक हत्यारा इलियट रोडगरलाई सन्दर्भ गरेको खुलेको छ । सन् २०१४ मा क्यालिफोर्नियामा छ जनाको हत्या गरेर आत्महत्या गरेका रोडगरप्रति उनले रुचि देखाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलबाट आएका दृश्यहरू अत्यन्त हृदयविदारक छन् । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको फुटेजमा शवहरू बोकेका झोला र आत्तिएका अभिभावकहरू विद्यालयतर्फ दौडिरहेका देखिन्छन् । घटनापछि गृह र शिक्षामन्त्री तत्काल त्यहाँ पुग्नुभएको छ भने न्यायमन्त्री अकिन गुर्लेकले विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिएका छन ।
पीडित परिवारहरूको पीडा झन् मार्मिक छ । एक अभिभावक ओमर एर्दागले आफ्नो अनुभव सुनाउँदै भने, “मेरो बच्चाले त्यो दृश्य देखेपछि मलाई भन्यो—‘बुबा, मेरो साथीलाई चोट लागेको छ ।’ भित्र धेरै रगत थियो । भगवानलाई धन्यवाद, मैले मेरो बच्चालाई सुरक्षित निकाल्न सकेँ ।” उनले भविष्यमा आफ्ना छोराछोरीलाई फेरि त्यही विद्यालय पठाउन सकिने कि नसकिने चिन्ता व्यक्त गरे ।
स्थानीय बासिन्दा जुलेहा बोस्काले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै बालबालिकामा बढ्दो हिंसात्मक प्रवृत्तिबारे प्रश्न उठाए । “के हिंसात्मक भिडियो गेमहरूले यस्तो मनोवैज्ञानिक असर पारिरहेका छन् रु वास्तविक समस्या के हो, हामी अझै बुझ्न सकेका छैनौँ”, उनले भने ।
घटनाको विरोधमा राजधानी अन्कारामा शिक्षक युनियनहरूले प्रदर्शन गर्दै विद्यालय सुरक्षामा कडाइ गर्न माग गरेका छन् । “हामी हाम्रा विद्यालयहरूलाई हिंसाको थलो बन्न दिन्नौँ”, भन्ने नारासहित प्रदर्शन गरिएको थियो ।
प्रकाशित समय : ११:३८ बजे



















