गृहपृष्ठ ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सबैलाई जिम्मेवार र कर्तव्यउन्मुख बनाउँछ’
‘समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सबैलाई जिम्मेवार र कर्तव्यउन्मुख बनाउँछ’
सुशासन, आर्थिक पक्षमा शुन्य सहनशीलता र प्रहरीको आचरणमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आफ्नो एकमात्र उद्देश्य रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताएका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरको संयुक्त आयोजनामा शनिबार बिहान आयोजित सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तर्क्रिया तथा जनचेतनामुलक कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी पोखरेलले सो कुरा बताएका हुन् ।
आर्थिक अनियमितता र भष्ट्राचारलाई निर्मुल पार्न नसकिए मुलुकमा सुशासन एवं आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमिततामा संलग्न भएमा आफुले त्यसलाई कहिल्यै माफी नदिने उनले बताए ।
‘सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ, त्यो पूरा गर्न तपाई–हाम्रो भूमिका पनि जरुरी छ । हाम्रा आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्न सक्दैन । सरकारको आकांक्षामा मेरो भूमिका कहा छ ? भनी खोजी गर्नुपर्छ,’ उनले भने ।
गलत साथी संगतका कारण युवाहरूमा लागुऔषध दुर्व्यसनी भयावह रूपमा देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न परिवारकै सदस्यहरू लाग्नु पर्ने डीआईजी पोखरेलको भनाइ थियो । आफ्ना बालबच्चालाई पर्याप्त समय दिई उनीहरू कहाँ जान्छन, के गर्दैछन, किन केका लागि खर्च माग्दैछन् भनेर बेलैमा सचेत भएमा दुर्व्यसनीबाट जोगाउन सकिने उनको सुझाव थियो ।
बाहिर निस्कन्दा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त–सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भन्ने कुरा कहिले पनि नभुल्न उनले आग्रह गरे । उनले भने, ‘महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याईएको हो । यस प्रकारको कार्यक्रमले हामी सबैलाई बढीभन्दा बढी जिम्मेवार र कर्तव्य उन्मुख बनाउँछ ।’

प्रकाशित समय : ०१:३४ बजे


















