nmb bank

गृहपृष्ठ सुवेदीको कृषि कर्म अरुका लागि प्रेरणा बन्दै

सुवेदीको कृषि कर्म अरुका लागि प्रेरणा बन्दै

सुवेदीको कृषि कर्म अरुका लागि प्रेरणा बन्दै
गण्डकी : कृषिप्रतिको अनिच्छासँगै रोजगारीको खोजीमा बढ्दो युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिका–३१ तालबेंसीका शिवराज सुवेदीको कृषि यात्रा भने अरुका लागि प्रेरणको स्रोत बनेको छ ।
उमेरले ६४ वर्ष पुगेका सुवेदीले २०४३ सालदेखि निरन्तर रुपमा गरेको व्यवसायिक कृषिसँगै उनले अहिले भने ‘रिभोलुसन मल्टिप्रपोज अर्गानिक एग्रिकल्चर फार्म हाउस’ सञ्चालन गरिरहेका छन । पशुपालनदेखि तरकारी तथा फलफूलखेतीका विविधता उनको फर्ममा देख्न सकिन्छ । आफूमा व्यावसायिक कृषिप्रतिको आकर्षण भने गाउँमा केयर नेपाल संस्था भित्रिएपछि भएको सुवेदीले  अनुभव सुनाए।
“मैले २०४४ सालतिर सुरुमा केयर नेपाल संस्थाकै सहयोगमा भेटनरी तथा कृषि तालिम गरेको थिएँ”, उनले भने, “त्यही सिकाइका जगमा व्यावसायिक पशुपालन तथा तरकारीखेती गर्न थालेको हुँ ।” यस आसापासको क्षेत्रमा नै पहिलोपटक २०४३ सालमा काउलीखेती गरेको अनुभव सुनाउँदै सुवेदीले उक्त समयमा काठमाडौँ स्थानीय जातको काउली लगाइएको जानकारी दिए ।
त्यस समयमा बारीमा फलाएको काउली दुई घण्टासम्म डोकोमा बोकेर चिसापानीसम्म पुु-याएको सुवेदीले अनुभव सुनाए । “त्यस समयमा काउली पाँच रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गर्दथ्यो”, उनले भने, “काउलीको बीउ पाउन भने मुस्किल थियो, काठमाडौँबाट नै मगाउनुपथ्र्यो ।”
आफूले त्यस समयमा काठमाडौंसम्म चल्ने बसमा सम्पर्क गरी ५० को बीउ ल्याउन  ५० भाडासमेत दिएर बीउ मगाएको सुवेदीले जानकारी दिए । उनका अनुसार रोप्नका लागि तयार गरिने काउलीको बिरुवा त्यस समयमा १० पैसामा बिक्री हुने गर्दथ्यो । व्यवसायक कृषिमा युवाहरूलाई आकर्षित गर्न सुवेदीले तालिम लिनसक्ने हल बनाएका छन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कृषकस्तरमा नवीनतम कृषि प्रविधिको प्रयोग अनुसन्धान तथा सिकाई केन्द्र स्थापना गर्न सहयोग कार्यक्रमअन्तर्गत अनुदान सहयोगमा तयार गरिएको हलमा एक साथ ४० जनासम्मले बसेर तालिम लिन सक्छन् । परियोजनाको अनुदान कार्यक्रमअन्तर्गत तालिम भवन, गाईभैँसी गोठ, बाख्राको खोर, ताराबारलगायतका संरचनाका लागि कूल ११ लाख ३१ हजार लागतमध्ये कृषकको सहभागिता तीन लाख २९ हजार ८३६ थियो भने कार्यालयको सहभागिता रु सात हजार ९७ हजार ५८ रहेको छ ।
सुवेदीले हाल पशुपालन, माछापालनसहित तरकारीखेती पनि गर्दै आएका छन । विगत नौ वर्षदेखि माछापालन गर्दै आएका उनले वार्षिक दुई लाख बराबरको माछा बिक्री गरिहेका छन । खसी, दूध, माछा, तरकारी आदि बिक्रीबाट खर्च कटाएर पाँच/छ लाखसम्म आम्दानी भइरहेको उनले अनुभव सुनाए ।
सुवेदीको फार्मममा तरबुजा, घिरौला, काँक्रा आदिको व्यावसायिक खेती भइरहेको छ । स्थानीयका लागि कुटानीपिसानीका साथै कफि प्रशोधन आदिसमेत सुविधा उपलब्ध गराउँदे आइएको छ । कृषिका बहुप्रयोग रुचाउने सुवेदीको प्रयास अरुका लागि पनि प्रेरणा बन्न सक्ने पोखरा महानगरपासिलका कृषि विकास शाखाका प्रमुख मनहर कडरिया बताउछन ।
एकीकृत कृषिका विविध पक्षलाई एकै ठाउँमा अवलोकन गर्न पाइएने सुवेदीको क्रियाशीलताबाट अरुले पनि धेरै सिक्न सक्ने उनको भनाइ छ । कृषिमा धेरै सम्भावना रहेको बताउँदै उनले मेहनतसँगै निरन्तरको लगाव हुनसकेमा कृषिबाट राम्रै आयआर्जन गर्न सकिने प्रमुख कडरियाले बताए।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु