nmb bank

गृहपृष्ठ पत्रकार पाण्डेको ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ कार्यक्रम सम्पन्न

पत्रकार पाण्डेको ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ कार्यक्रम सम्पन्न

काठमाडौं । ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ गरिएको छ ।

आज यहाँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘डकुमेन्ट्री फिल्म’ को प्रिमियर गरिएको हो । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनलगायतको उपस्थिति रहेको थियो ।

‘ब्रेन इन्जुरी’बाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको असाधारण यात्रालाई समेटिएको यस फिल्मको निर्देशन पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेले गरेका छन । करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्ममार्फत गम्भीर दुर्घटनापछि जीवनसँग जुधिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गरिएको निर्देशक पाण्डेले बताए ।

द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र परिवारसहित सात जनाको टोलीले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पूरा गरेका उल्लेख छ । चिकित्सकले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्मको यात्रा तय गरेको विषय फिल्म समेटिएको छ । यस्तै, फिल्ममा स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौं आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पतर्फको भावनात्मक तथा चुनौतीपूर्ण पदयात्रा समेटिएको छ भने उचाइ, थकान र स्वास्थ्य समस्याबीच पनि उनीहरूले एकअर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास दृश्याङ्कन गरिएको छ ।

निर्देशक पाण्डेले भने, “यो फिल्मले मस्तिष्कमा गम्भीर चोटपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिन्छ ।” कार्यक्रममा बेलायती राजदूत रब फेनले डकुमेन्ट्री फिल्मलाई ‘एकदमै प्रेरणादायी कथा’ भनेर प्रशंसा गरेका छन ।

यसैगरी विश्वविद्यालय अफ साउदर्न क्यालिफोर्नियाकी प्राध्यापक जेनिफर कूलले पनि डकुमेन्ट्रीबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तरराष्ट्रियस्तरमा सफल प्रदर्शन भइसकेका छन् । उनको भूकम्पसम्बन्धी ‘भाग्यले बाँचेकाहरू’ ले १७ भन्दा बढी अन्तरराष्ट्रिय पुरस्कार र बहुपति प्रथामा आधारित ‘को–हजबेण्ड’ ले एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

आज प्रदर्शित फिल्ममा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे रहेका छन ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु