global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ युवा प्रवर्द्धनका लागि ‘उदय परियोजना’ सुरु

युवा प्रवर्द्धनका लागि ‘उदय परियोजना’ सुरु

युवा प्रवर्द्धनका लागि ‘उदय परियोजना’ सुरु

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले युवा लक्षित ‘उदय परियोजना’ सञ्चालनमा ल्याइएको बताएको छ । करिब आठ अर्बको लगानीमा सुरु गरिएको यस परियोजनाले प्रदेशभित्रका युवा उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको उनले बताए ।

बुधबार सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो गौतम बुद्धको प्रतिमा उत्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकारले सुरु गरेको ‘उदय परियोजना’ र ‘ब्याज अनुदान’ कार्यक्रमले युवा उद्योगीको प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए।

“अब ३० देखि ५० प्रतिशतसम्म धलौटी राखेर शतप्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था गरिएको छ”, उनले भने, “परियोजनाबाट ३० लाखदेखि तीन करोडसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ । यसका लागि विभिन्न बैंकहरू छनोट गरिसकिएको छ । धितोसम्बन्धी पुरानो जटिल व्यवस्था अब हट्छ ।”

स्वीस सरकारसँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेपालमै नमुना कार्यक्रम सुरु गर्ने कोशी प्रदेश पहिलो भएको दाबी गरे । साना तथा मझौला उद्योगीलाई उद्योगको प्रकृतिअनुसार ऋण उपलब्ध गराइनेछ भने बजार प्रवर्द्धनमा सहयोग गरिने उनको भनाइ छ ।

‘ब्याज अनुदान’ कार्यक्रमअन्तर्गत प्रदेश सरकारले हरेक वर्ष ६ प्रतिशत ब्याज व्यहोर्ने व्यवस्था गरेको छ । करिब छ अर्ब बजेट रहेको यस कार्यक्रममा सहभागी हुन उद्योग, कृषि मन्त्रालयबाट तोकिएका ११ बैंकमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ । योग्य ठहरिएपछि दुईदेखि आठ वर्षसम्मको अवधिका लागि ऋणको ब्याज प्रदेश सरकारले तिरिदिनेछ ।

उनले सूर्योदय नगरपालिकालाई पर्यटकीय, धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताए । साथै फोहरमैला व्यवस्थापनका लागि बजेट विनियोजन भइसकेको र भौतिक मन्त्रालयसँग समन्वय गरेर काम गर्न उनले आग्रह गरे।

मुख्यमन्त्री कार्कीले बुद्धको प्रतिमासहित १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्कको उद्घाटन गरे । प्राण प्रतिष्ठानसहित बुद्धको प्रतिमा र पार्क उद्घाटन गरिएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले बताए। बुद्ध धर्म गुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछेसहितका धर्म गुरुबाट  बिहान ६ बजेदेखि १२ बजेसम्म प्राण प्रतिष्ठान गरी उक्त स्थानको उद्घाटन गरिएको हो ।

उक्त पार्क भारतको पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य बन्ने गरेको छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट दुई किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको स्थानीय पर्यटन व्यवसायी विमल देवानले जानकारी दिए ।

बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवर्द्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२/७३ मा भएको थियो । क्रमागत रूपमा सञ्चालन हुँदै आएको आयोजना देश सङ्घीय संरचनामा गएपछि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले निर्माण गरेको थियो ।

सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरी पार्क निर्माण गरेको सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले जानकारी दिए । उनले उक्त पार्क सञ्चालनमा आएपछि नेपाल, भारत र तेस्रो देशका पर्यटकको आकर्षणको केन्द्र बन्ने बताए ।

वुद्धपार्क निर्माणमा कोशी प्रदेश सरकार, मेची पहाडी पर्यटन विकास समिति र सूर्योदय नगरपालिका गरी सात करोड खर्च भएको जनाइएको छ । उक्त पार्कसँगै स्थानीय पर्यटन व्यवसायीले अन्य पर्यटकीय संरचना निर्माण गरेका छन् ।

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु