गृहपृष्ठ झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत आज सम्पन्न खेलमा जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई ३–० गोलअन्तरले पराजित ग-यो । पहिलो हाफमै दुई गोल गर्दै आर्मीले खेलमा स्पष्ट अग्रता बनाएको थियो । आर्मीका लागि पहिलो गोल दिनेश योञ्जनको पासमा नवीन लामाले गरे । त्यसपछि मध्यान्तरअगावै नवयुग श्रेष्ठले अर्को गोल थप्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर ‘फ्रिकिक’मार्फत जर्ज प्रिन्स कार्कीले तेस्रो गोल गरेपछि आर्मीको जित सुनिश्चित भयो ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले सात लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ३५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ सहभागी छन् । यस्तै, भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार आयोजक झापा–११ र भारतको सिक्किमस्थित सिङलिङ स्पोर्टिङ क्लबबीच खेल हुने आयोजक समितिले जनाएको छ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु