global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

सुदूरपश्चिममा ‘बालेन’ को मौन चुनावी अभियान

कैलालीको लम्कीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी अभियान थालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमको चुनावी अभियान आज सकेका छन् ।

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका साथै सात पहाडी जिल्लाको पार्टीको चुनावी अभियान भ्याएका वरिष्ठ नेता बालेनले समर्थक एवं पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विना कुनै सम्बोधन मौन अभियान सञ्चालन गरेका हुन् ।

जिल्लाका रहेका पार्टी कार्यालय र उम्मेदवारहरूका चुनावी सम्पर्क कार्यालयमा घण्टी बजाउँदै सर्मथकहरू माझ उपस्थित भए पनि उनले कुनै पनि कार्यक्रममा सम्बोधन गर्नुभएन । राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता बालेनले चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नं २ लम्कीबाट सुदूरपश्चिमको चुनावी अभियान थालेका थिए । कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । खनाल रास्वपाभित्र बालेन निकट युवा नेताका रूपमा चिनिन्छन् ।

चुनावी अभियानका क्रममा आफ्नो पार्टीका उम्मेदवारहरूसित भलाकुसारी र सामान्य छलफल गरे पनि सार्वजनिक मञ्चबाट भाषणबाजी नगरे पनि यात्राका क्रममा उनले डोट्याली भाषामा स्टाटस लेख्दै फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै हिड्नुभयो ।

लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पुनर्बास पुगेका शाहले सोही दिन कञ्चनपुरको शुक्लाफाँटा र महेन्द्रनगरमा रहेको पार्टी कार्यालय पुगेर घण्टी बजाउने र शुभेच्छुक माझ प्रस्तुत भए । यो क्रममा शाहले डडेल्धुराको प्रसिद्ध बाजेको खीरको स्वाद लिनेदेखि हिँउसित फोटो खिच्नुका साथै विभिन्न स्थानको अवलोकन गरेको तस्बीर सामाजिक सञ्जालमार्फत भाइरल भए ।

अभियानकै क्रममा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका विभिन्न स्थानमा चुनावी अभियान सकेर शुक्रबार बालेनको टिम कर्णालीतर्फ प्रस्थान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिश भट्टले जानकारी दिए ।

“बालेन अहिले कालिकोटको मान्म पुग्नुभएको छ”, रास्वपाका समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टले भने, “अब चाँडै पार्टीले प्रदेश सरकारका चुनावी सभा आयोजना गर्दा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।”

बालेनको सुदूर यात्रामा उनप्रतिको क्रेज अत्यधिक देखिएको रास्वपाका नेताहरूले बताएका छन् ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु