गृहपृष्ठ खेलकुदमन्त्रीलाई विकासका संरचनागत सुधारका सुझाव
खेलकुदमन्त्रीलाई विकासका संरचनागत सुधारका सुझाव
युवा तथा खेलकुद मन्त्रालयमा आइतबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पदबहालीपश्चात मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल अटोमोबाइल्स एसोसिएसनका प्रतिनिधिले आज मन्त्रालयमा भेटगरी सुझावपत्र पेस गरेका छन्
संघका मार्सल एन्ड ट्रेनिङ कमिसनका सचिव आशिष रौनियार र ई–स्पोर्टस् कमिसनका सचिव तथा स्पोर्टस एण्ड इभेन्ट अफिसर अङ्कित भण्डारीसहितको टिमले सङ्घकोतर्फबाट बधाई दिँदै नेपालमा मोटर स्पोर्टस् र साहसिक खेलकुदको विकासका लागि ठोस नीति, कार्यक्रम र संरचनागत सुधारका सुझावहरू समेटिएको पत्र बुझाएका हुन्।
सो अवसरमा सङ्घका प्रतिनिधिले युवा तथा खेलकुद मन्त्रालयले साच्चै ‘युवा सोच र साहसिक दृष्टि’ भएको मन्त्री पाएकामा खुसी व्यक्त गर्दै नेपालका साहसिक तथा पर्यटकीय खेलकुद क्षेत्रले ठूलो अपेक्षा गरेको बताएका थिए। प्रतिनिधिले नेपाली खेलकुदलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र आशालाग्दो बनाउने मन्त्रालयको अभियानमा नेपाल अटोमोबाइल्स एसोसिएसनको सधैँ साथ सहयोग र समर्थन प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
सङ्घकोतर्फबाट सुझाव पत्र बुझ्दै मन्त्री गुप्ताले सुझाव अत्यन्त व्यवस्थित, व्यावसायिक र दूरदर्शी रहेको बताए।
उनले भने, ‘मन्त्रालयले यति गहिरो र व्यावहारिक सुझाव पहिलो पटक पाएको हो।’
उनले सङ्घकोतर्फबाट साच्चै युवा खेलाडी तथा अफिसियलमार्फत प्राप्त सुझावले युवावर्गमा हौसला पुग्ने बताए।
सुझाव पत्रमा भनिएको छ, ‘नेपालको साहसिक तथा पर्यटकीय खेलकुदको विद्यमान अवस्थाको अध्ययन गरी सुझाव तथा रणनीतिक योजनाको प्रस्ताव तयार गर्न एउटा कार्यदल गठन गर्दै नेपाललाई साहसिक तथा पर्यटकीय खेलकुदको केन्द्रको रूपमा विकास गर्न नीतिगत, कार्यक्रमिक तथा बजेटकोसमेत व्यवस्था गर्नुपर्ने आवश्यक देखिन्छ।’
प्रकाशित समय : २२:५५ बजे



















