गृहपृष्ठ बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड

गोविन्द्र राज तिमिल्सेना
बाजुरा । नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो ।
चाडपर्व नजिकिएकाले बाजुराको सदरमुकाम मार्तडीलगायतका बजारमा उपभोक्ताको भीडभाड बढेको हो । दसैं तिहारमा नयाँ कपडा, सुनचाँदी लगायतका सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ ।
मार्तडी बजार बाजुराको सदरमुकामसंगै जिल्लाको प्रमुख व्यापारीक केन्द्र भएकाले पनि उपभोक्ताको भीडभाड बढ्ने गरेको छ । दसैं तिहारमा घर आउने मानिसको संख्यामा पनि वृद्धि भएकाले बजारमा चहलपहल बढ्दै गएको हो ।
माथिल्लो चारवटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटलगायत जिल्लाका नागरिक मार्तडी हुँदै जाने गरेका छन् ।
विशेषतःदसैं तिहारमा सामान किन्ने उपभोक्ता त्यस्तै जिल्ला भित्रिने मानिसले मार्तडी बजारमा चहलपहल बढाएको छ ।
चाडपर्वले चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । बाजुराका प्रमुख व्यापारीक केन्द्रमा व्यवसाय गरिरहेका व्यवसायीहरू सामाग्री बिक्रीबाट सन्तुष्ट देखिएका छन्। दिनुहुँ उनीहरुले राम्रो व्यापार व्यवसाय समेत गरिरहेका छन् ।
गत वर्षको भन्दा यो वर्ष पनि व्यापार, व्यवसाय करिब दश प्रतिशतले बढि चलिरहेको मार्तडीका कपडा व्यवसायी बडीमालिका एण्ड रविन्द्र फेन्सी स्टोरका प्रोपराईटर जयराज उपाध्यायले बताए ।
दशै, तिहार नजिकिँदै गर्दा चहलपहल बढ्न थालेपछि व्यापार,व्यवसाय राम्रो चलिरहेको व्यापारी उपाध्ययले बताएका छन् ।
व्यापार व्यवसाय राम्रो भए पनि सामाग्रीको मुल्य वृद्धिले सामाग्री खरिद विक्रीमा अलि असहजता थपिएको उनको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा भीड बढिरहेकाले व्यापार,व्यवसायको कारोबारमा अझै सुधार आउने व्यवसायी उपाध्यायको अपेक्षा छ ।उपभोक्ताहरुले यतिवेला आफूलाई मन पर्ने सामाग्रीको मूल्य उच्च भए पनि किनेर लिने गरेका छन् ।
सदरमुकाम मार्तडीमा मात्रै नभई बाम्का बजार,डाब बजार,बेतालमाण्डौ,गौमुल गाउँपालिकाको घट्मुना त्यस्तै पुर्वी उत्तरी भेगको कोल्टी,जगन्नाथको पिलिचौर,हिमालीको धुलाचौर लगायतका प्रमुख व्यापारीक केन्द्रमा चाडपर्व नजिकिए संगै चहलपहल बढेको हो ।
बाजुरामा दिनहुँ पाँच सय भन्दा बढी नागरिक जिल्ला भित्रिने गरेका छन्। रोजगार, अध्ययन र अन्य कामको सिलसिलामा बहिरिएका नागरिक चाडबाडका लागि गाउँ फर्किेन थालेपछि यहाँका गाउँबस्तीमा चहलपहल बढेको हो ।
दिनप्रतिदिन बाहिर बाट मानिसहरु जिल्लामा भित्रिने क्रम बढीरहेको हुँदा जिल्लामा निकै चहलपहल छाएको छ । केहि समय अघि सुनसान रहेका यहाँका गाउँबस्ती यतिवेला भरिएका छन्। गाउँघरमा चहलपहल बढेपनि बजारमा भने चहलपहल घट्ने भएको हो। व्यापार गरिरहेका व्यापारी चाडबाड मनाउँन घर जाने हुँदा बाजुराका प्रमुख व्यापारीक केन्द्र केही समय पछि सुनसान बन्ने भएका छन्।
प्रकाशित समय : ०७:४१ बजे