global ime bank Long Banner Ad

गृहपृष्ठ बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन ९माता तीर्थ औँसी० र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् ।

देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताए । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए ।

श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गरे । उनले भने, “वृद्धावस्थामा निकै समस्या हँदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।” अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उुनको भनाइ छ । उनले थपे “अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।” अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको बताए । विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएको छ ।

दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा÷छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएको छ । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । वैवाहिक जीवन सफल हुन नसकेपछि उनले आश्रममा आएर बस्न थालेको हो । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गए । एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आएको छ । उनले भने, “आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,” उनले सुनाए “बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ उनले सुनाए । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।”

बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित छन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । समाजमा देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए। परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, “जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु”, उहाँले भने, “सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।”

देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेको छ । जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए ।

सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, “जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।” सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए। दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, “समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।”

यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु