global ime bank Long Banner Ad

गृहपृष्ठ देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिने तयारी थालेका हुन्।

सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिक विधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए ।

‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमा नअल्झिऔं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए।
देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् ।

उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए। जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए।

लामा काठमाडौँमा आफूनिकट सांसदहरूसँग बैठक र परामर्शमा व्यस्त छन्। उनी बागमतीमा कांग्रेस नेतृत्वको सरकारलाई टिकाइ राख्न आफूपछि पनि आफूनिकटका सांसदहरूले महत्त्वपूर्ण मन्त्रालय पाउने सुनिश्चितता खोजिरहेका छन्।

उनको मागमा आर्थिक मामिला लगायतका प्रभावशाली मन्त्रालय आफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडानमा छन् । अविश्वास प्रस्तावमा साथ दिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्य अवस्थाका कारण सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ।

यदि आफूनिकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्री लामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेको उनको पक्षधर एक सांसदले जानकारी दिए।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु