गृहपृष्ठ झापा महिला गोल्डकप कात्तिकमा
झापा महिला गोल्डकप कात्तिकमा
झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, गोल्डकप अध्यक्ष सन्तोष थोप्राले भने ।
पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप यही कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा विकसित गराउन आयोजक टिम लागिपरेको जनाइएको छ ।
झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशि पुरस्कार पाउनेगरी आयोजक टिमले तयारी गरिरहेको छ ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
महिला खेलाडीलाई प्रोत्सहान गर्दै झापामा महिला खेलाडी उत्पदानमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको उद्देश्य रहेको छ । त्यसका लागि दुधे रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ ।
प्रकाशित समय : २०:१० बजे



















