गृहपृष्ठ सशस्त्र प्रहरीद्वारा अग्रवर्ती खोज तथा उद्धार प्रशिक्षण
सशस्त्र प्रहरीद्वारा अग्रवर्ती खोज तथा उद्धार प्रशिक्षण
सशस्त्र प्रहरी बल नेपाल नं २२ गण हेडक्वाटर गुह्येश्वरी भक्तपुरले चाँगुनारायण नगरपालिकाका नगर प्रहरी तथा विपद् व्यवस्थापन स्वयंसेवक गरी ३२ जनालाई अग्रवर्ती खोज तथा उद्धार तालिम प्रदान गरेको छ ।
सम्भावित विपद्का घट्नालाई मध्यनजर गरी तीन साताको प्रशिक्षण दिएको हो । सशस्त्र प्रहरीबलको दुवाकोट गणमा सञ्चालित प्रशिक्षण आज समापन भयो । समापन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।
नगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गरेको जानकारी दिँदै उपप्रमुख बुढाथोकीले विपद् व्यवस्थापनका लागि छुट्टै एकाइ स्थापना गरी प्रत्येक वडामा तयारी अवस्थामा राखेको बताए ।
चाँँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोमप्रसाद प्रधानले नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी विपद् पूर्वतयारी तथा प्रतिकार्य गर्दै आएको बताए ।
सशस्त्र प्रहरी बल दुवाकोट गणका गणपति जनक सापकोटाले स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयले सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा सहज हुने धारणा राखे ।
तालिममा घाइतेको जाँच, कृत्रिम श्वासप्रश्वास, घाइतेको वर्गीकरण, टाउको र मेरुदण्डको चोट, विष तथा पोलाइ, पानीजन्य खोज उद्धार विधि, डोरी र यसको प्रयोग, दमकलबाट आगो निभाउने सीपलगायत प्रशिक्षण दिइएको थियो ।
प्रकाशित समय : १८:३४ बजे



















