गृहपृष्ठ बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण गरिँदै
बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ निर्माण गरिँदै
बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतङ्क न्यूनीकरण गर्न ‘बाँदर बगैँचा’ बनाउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पु¥याउने फलफूल र मसलाबालीको खेती गरिने बताए ।
वडा नं ८ पुरानो गाउँमा ‘बाँदर बगैंचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ ।
पालिकाभरका सबै किसानलाई सूचीकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताए । नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स सञ्चालनसमेत गर्ने भएको छ । दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नश्ल सुधार गर्ने, खोप लगाउने, औषधि र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताए । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति नगरपालिकाले लिएको छ ।
अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउछन । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बङ्गुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।
गत वर्ष लिएको ‘सेरा जाऔँ, केरा खाऔँ’ कार्यक्रमलाई पनि निरन्तरता दिइने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मूल नारासहित सञ्चालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित समय : १२:३६ बजे




















