गृहपृष्ठ लस एन्जलसमा तनाव: थप दुई हजार सुरक्षाकर्मी तैनाथ
लस एन्जलसमा तनाव: थप दुई हजार सुरक्षाकर्मी तैनाथ
Protesters denounce President Trump and ICE, U.S. Immigration and Customs Enforcement, Monday, June 9, 2025, in downtown Los Angeles. (AP Photo Jae Hong)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारको विरोधमा जारी प्रदर्शन नियन्त्रण गर्न थप दुई हजार सुरक्षाकर्मी (नेसनल गार्ड सैनिक) परिचालन गर्न अनुमति दिएका छन्।
अब विरोध प्रदर्शन नियन्त्रण गर्न संघीय आदेशमा परिचालन गरिएका गार्डको संख्या चार हजार एक सय नाघेको पेन्टागनका प्रमुख प्रवक्तालाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ।
पेन्टागनका प्रमुख प्रवक्ता सान पार्नेलले थप दुई हजार नेसनल गार्डका जवानलाई लस एन्जलस पठाउन लागिएको बताए।
उनले भने, ‘राष्ट्रपतिको आदेशअनुसार रक्षा विभागले क्यालिफोर्निया नेसनल गार्डका अतिरिक्त दुई हजार जवानलाई ड्युटीमा बोलाएको छ। उनीहरूले आईसीई (आप्रवासन नियन्त्रण एजेन्सी) लाई सहयोग गर्न सकून् र संघीय कानुन कार्यान्वयन अधिकारीलाई सुरक्षित रूपमा आफ्नो काम गर्न सहयोग पुर्याउन सकून् भनेर थप सुरक्षा बल खटाइएको हो।’
यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेका विरोध प्रदर्शनहरू रोक्न दुई हजार नेसनल गार्ड तैनाथ गर्ने आदेश दिएका थिए।
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा अमेरिकी आप्रवासन एजेन्सीद्वारा अवैध आप्रवासीमाथि गरिएको छापामारको विरोधमा लगातार चार दिनदेखि प्रदर्शन भइरहेका छन्।
केही घण्टाअघि मात्र पेन्टागनले करिब सात सैनिक लस एन्जलसमा भइरहेको प्रदर्शन नियन्त्रणका लागि पठाएको थियो। लस एन्जलसमा जारी आप्रवासनविरुद्धका विरोध प्रदर्शन सोमबार राति अबेरसम्म जारी छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरी र सुरक्षाकर्मी सक्रिय रूपमा खटिएका छन्।
प्रकाशित समय : १०:५० बजे



















