global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति ९रासस०ले आजदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो ।

गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा हुने प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलाका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका कुल १०० तस्बिर समेटिएका छन् ।

प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज संयुक्त रूपमा शुभारम्भ गर्ने कार्यक्रम तय भएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिए ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यर्होर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले हालै यहाँ सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमालसम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएका छन् ।

ग्राहकहरूको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग गर्ने विश्वास महाप्रबन्धक सिद्धराज राईले व्यक्त गर्नुभयो । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खलाको प्रवर्द्धनबाट वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रको विकासले अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमशिखरमध्ये आठवटा नेपालमा छन् ।

प्रदर्शनीमा राखिएका तस्बिरले हिमाल, हिमाली क्षेत्रको विविधता, हिमाली सौन्दर्यका साथसाथै पर्यटकीयस्थलका बारेमा जानकारी दिनेछन् । मानव जीवन र वातावरण सन्तुलनका लागि पनि हिमालको विशेष महत्व रहेको छ ।

मुलुकमा आठ हजार मिटरमाथिका सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमशृङ्खला छन् । सात हजार मिटरमाथिका ९० र छ हजार मिटरमाथिका एक हजार ३१० गरी एक हजार ७९२ हिमाल रहेका छन् ।

प्रकाशित समय : ०५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु