global ime bank Long Banner Ad

गृहपृष्ठ धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दा समस्या

धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दा समस्या

धितो मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दा समस्या

धितोको मूल्य घट्दै जाँदा बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता)एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैङ्कहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।

एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैङ्कहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए । कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ । “यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने÷नगर्ने भन्ने विषय अन्योल हुन्छ”, उनले भने ।

अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्याङ्कनकर्ताहरूलाई बैङ्कहरूले कालोसूचीमा राख्न नहुने बताएका हुन ।

केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैङ्क र बैङ्कका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए । उनले भने, “बैङ्कहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।”

अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैङ्कहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ ।

एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैङ्कहरूले कारबाही गर्ने गरेको बताए । पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ ।

एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैङ्कका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैङ्कहरूले गरेको उल्लेख गरे । बैङ्कहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।

चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताए ।

नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैङ्कहरूले बुझ्नुपर्ने बताए । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता)एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु