global ime bank Long Banner Ad

गृहपृष्ठ सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन

सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शन

भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो ।

आतंककारी आक्रमणमा एक नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएपछि त्यसको विरोधमा हजारौंको संख्यामा नागरिक सहभागी भई आक्रोशपूर्ण विरोध कार्यक्रम सम्पन्न गरिएको छ ।

विरोध कार्यक्रमको क्रममा पाकिस्तानी सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ जस्ता नारासहित उपस्थित जनता जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सडकमा उत्रिएका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल–भारत खुला सीमा संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष डा.राजीव झा रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिह, राम जीवन साह, अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रमुख सहभागीहरूमा पूर्वजिसस उपप्रमुख दिपक झा, जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर –३ वार्ड अध्यक्ष दिपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्ण कुमार साह लगायत थिए ।

कार्यक्रममा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै पाकिस्तान र आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए । कार्यक्रम संयोजकद्वारा यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको थियो ।

नेपाल–भारत खुला सीमा संवाद समूहले आगामी दिनहरूमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताएको छ ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु