global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो ।

भर्नाका लागि आउने विद्यार्थी र उनीहरूका अभिभावकको लाइनले विद्यालयको माहोल नै फरक देखिन्थ्यो । तर यस वर्ष भने जनमाविले विद्यार्थी भर्ना सुरु नै गरेको छैन ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।

सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्छ, सरकारले ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुप-यो, होइन भने विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिनेछन् ।’

अहिले भर्ना अभियान रोकिँदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । तर शिक्षकहरूको जायज माग पूरा गर्नका लागि विद्यालयले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको श्रेष्ठले बताए । यद्यपि, विद्यालयका आगि आवश्यक पर्ने पाठ्यपुस्तक व्यवस्थापन र अन्य तयारीका काम भने गरिसकेको उनको भनाइ छ ।

सरकार र शिक्षक महासंघबीच संवाद भएपनि सहमति हुन सकेको छैन । जसले गर्दा नयाँ शैक्षिक सत्रको भर्ना अभियान सँगसँगै बालबालिकाको पढाइ प्रभावित हुने संकेत देखिएको छ । शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्दै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ ।

आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘हामीले अबको चार-पाँच दिन विचार गर्छौं, नभए विद्यालय खोल्नुको विकल्प छैन, सरकारले शिक्षकका माग छिट्टो सम्बोधन गर्नुपर्छ, दैनिक पाँच सय जना अभिभावकले चासो राखेर फोन गरिरहनुभएको छ । विद्यार्थी र अभिभावक अन्योलमा हुनुहुन्छ, सरकारले शिक्षकका माग सम्बोधन गर्नुपर्छ’ उनले भने ।

जनमावि र अमरज्योतिमा मात्रै होइन शिक्षकहरू आन्दोलित हुँदा कर्णाली प्रदेशभर नै यो वर्षको विद्यालय भर्ना अभियान प्रभावित बनेको छ । सरकारले विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि सुरु गर्ने जनाएको थियो ।

वैशाख १ गते सार्वजनिक बिदा भएकाले २ गतेदेखि भर्ना अभियान सुरु गर्ने भनिए पनि भर्ना अभियान सुरु हुन सकेको छैन । सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपनि महत्वपूर्ण सरोकारवाला पक्ष रहेको शिक्षकहरू भने आन्दोलनमा छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० देखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर वा विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ । ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश गर्नुपर्ने महासंघको माग छ ।

शैक्षिक हड्तालसहितको शिक्षक आन्दोलनले देशभर ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यमिक शिक्षा परीक्षा(एसईई) को उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु