global ime bank Long Banner Ad

गृहपृष्ठ प्रविधिमार्फत सार्वजनिक सुनुवाई गर्दै विद्युत नियममन आयोग

प्रविधिमार्फत सार्वजनिक सुनुवाई गर्दै विद्युत नियममन आयोग

प्रविधिमार्फत सार्वजनिक सुनुवाई गर्दै विद्युत नियममन आयोग

नेपालमै पहिलोपटक सार्वजनिक सुनुवाईमार्फत उपभोक्ताको गुनासो सुन्न सूचना प्रविधिको प्रयोग गर्न लागिएको छ । विद्युत नियमन आयोगले यही चैत्र १४, १६ र १७ गते आयोजना गर्न लागेको सार्वजनिक सुनुवाईमा यस्तो प्रविधिको प्रयोग हुन लागेको हो ।

आयोगले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बिहान १० देखि बेलुकी ५ बजेसम्म मध्य बानेश्वरस्थित डाइनिङ पार्कमा सञ्चालन हुने जानकारी गराएको छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार कार्यक्रममा आयोगका पदाधिकारी तथा सदस्यहरु र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरु उपस्थित हुनेछन् । अत्याधुनिक सूचना प्रविधि ‘इ-हेअरिङ’ प्रविधिको माध्यमबाट मेचीदेखि महाकालीसम्म र विदेशमा रहेका नेपालीहरुले समेत आफ्नो प्रतिक्रिया दिन पाउने व्यवस्था मिलाइएको अध्यक्ष सिंहले जानकारी दिए ।

प्रतिक्रिया, राय वा सुझाव दिन इच्छुक व्यक्तिले बिहान १० देखि ५ बजेसम्म सम्पर्क गर्नु पर्नेछ । यसका लागि जोकोहीले मोबाइल नम्बर ९८४७३४००३८, ९८४७३४००४३ र ९८४७३४००४५ मा सम्पर्क गर्न सक्ने अध्यक्ष सिंहले जानकारी दिए । यसबाहेक यसै नम्बरको ह्वाट्स एप वा भाइबरबाट पनि सम्पर्क गरी आयोगको इमेल ठेगानामा प्रतिक्रिया दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको कारण भीडभाड हुने किसिमका ठूलो भेला नगर्न सरकारले गरेको सूचनालाई ध्यान दिँदै प्रविधिमार्फत उपभोक्ताको प्रतिक्रिया लिन लागिएको आयोगले जनाएको छ । प्राप्त प्रतिक्रियाहरुको आधारमा महसुल निर्धारण गरिने अध्यक्ष सिंहले बताए ।

‘विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका २०७६’ बमोजिम कार्यक्रम सञ्चालन गरिने र सहभागीहरुले सो निर्देशिकाको अनुसुची (१) बमोजिमको आचारसंहिता पालन गर्नुपर्ने अध्यक्ष सिंहले बताए । ‘सहभागीले सभ्य, सरल, मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, सुझाव, प्रश्न के राख्ने पहिले स्पष्ट हुनुपर्ने लगायतका आचारसंहिता छन् । त्यो सबैले पालना गर्नुपर्छ,’ उनले भने ।

प्राधिकरणले विद्युत नियमन आयोगसमक्ष पेश गरेको विद्युत महसुल निर्धारण प्रस्तावउपर सार्वजनिक सुनुवाई आव्हान गरिएको अध्यक्ष सिंहले बताए ।

 

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु