global ime bank Long Banner Ad

गृहपृष्ठ एसईईको प्रवेशपत्रका लागि घुस लिने प्रधानाध्यापक पक्राउ

एसईईको प्रवेशपत्रका लागि घुस लिने प्रधानाध्यापक पक्राउ

एसईईको प्रवेशपत्रका लागि घुस लिने प्रधानाध्यापक पक्राउ

धनुषाको मिथिला नगरपालिका –२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतो विद्यार्थीसँग घुस लिएको आरोपमा बुधबार पक्राउ परेका छन् ।

उनकै विद्यालयबाट एसईई दिने तयारीमा रहेका परीक्षार्थीसँग प्रवेश पत्रका लागि भन्दै दुई हजार रुपैयाँ घुस लिँदै गर्दा महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

बिहीबारदेखि देशभर एसईई परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सबै तयारी पूरा भइसकेको बेला निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाइरहेका थिए । सोही क्रममा एक विद्यार्थीले आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी गरी प्रअलाई मागे अनुसारको रकम दिएपछि टोलीले महतोलाई पक्राउ गरेको हो ।

समयमा परीक्षा फारम नभरेको हुँदा परीक्षामा भाग नै लिन नपाउने अवस्था रहेको भन्दै प्रअ महतोले पाँच-सात हजार रुपैयाँको जोहो गरे मिलाउन सकिने आश्वासन दिएपछि आफूहरु आयोगमा पुगेको ती विद्यार्थीका अभिभावकले बताए ।

सुरुमा जति नै अनुरोध गर्दा पनि सम्भव नरहेको बताउने प्रअले दुई हजार पाएपछि प्रवेशपत्र दिएका थिए । यसलगत्तै उनलाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार घुस लिएको रकमसहित पक्राउ परेका महतोविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारवाही गरी विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।

प्रकाशित समय : ००:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु