global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी

बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन । उनले भने, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताएका उनि युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन ।

विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उनि केराबारीमा भेटिन्छन । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उनले भने, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गरेको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”

बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्काएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिएका उनि २०६५ सालमा वैदेशिक रोजगारीमा जनाए । “देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२÷६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो”

शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उनको भनाइ थियो ।

यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उनले सुनाए। त्यसयता उनले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताए । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उनको भनाइ छ ।

उनले एक छोरालाई फार्मेसी पढाएका छन । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउछन । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाएका उनले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताए ।

उनको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उनले वर्षको प्रतिकठ्ठा चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्छन । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उनको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा ३१ लाख बढीको केरा बिक्री गर्ने उनको भनाइ छ ।

“प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ”, उनले भनिन, “मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।” प्रतिकोसा ३.५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उनले जानकारी दिए । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

उनि आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उनको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उनले सुनाए । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उनले बताए ।

राज्यले थोरै राजस्वको लोभमा देशका किसानलाई पेसाबाट पलायन गर्ने नीति सुधार गर्नुपर्ने उनको माग छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर अपुग सामानमात्र भित्र्याउनुपर्ने उनि बताउछन । खेतमा बिरुवा लगाएर राजनीति गर्ने र कम्मरमा हात लगाएर बस्नेहरूले खेती हुन्न । बजार छैन, कृषि डुब्नका लागि गर्ने हो भन्ने भाष्य सृजना गरेकामा उनले दुःख व्यक्त गरे । यस्ता भाष्यले समाजमा कृषि कर्मप्रति नै नकारात्मक सोचको विकास गरेकाले युवाहरू यही कृषि कोरिया, जापान, अष्ट्रेलिया गएर गर्न लालायित हुने तर नेपालमा खेत बाँझै हुने अवस्था आएको किसान बलको बुझाइ छ ।

कृषि गर्छु भन्नुभन्दा पनि किसानले आफूले लगाएको बिरुवाको भाषा बुझ्ने गरी अभ्यस्त हुनुपर्ने उनि बताउछन । बोटबिरुवासँग बिहान, दिउँसो र बेलुका भेट गर्ने र उनीहरूको कुरा बुझ्नेले मलजल गरेमात्र उत्पादन वृद्धि हुन्छ । उनले भने, “उत्पादन बढेपछि मात्र आम्दानी बढ्ने हो । बलले केराखेतीबाट सबै खर्च कटाएर मासिक एक लाखसम्म आम्दानी गरिरहेको भन्दै यस पेसाले आफूलाई सन्तुष्टि दिएको प्रतिक्रिया दिए । कुनै पनि कृषिलाई उन्नत बनाउन राज्यले प्रविधिको उपयोग तथा खेती प्रणालीको विकासमा भने ध्यान दिनुपर्ने उनि बताउछन ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु