गृहपृष्ठ कोरोना संक्रमण : एनआरएनएले बोलायो आकस्मिक बैठक
कोरोना संक्रमण : एनआरएनएले बोलायो आकस्मिक बैठक
विश्वभर महामारीका रूपमा फैलिएको नोवेल कोरोनाभइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ । राष्ट्रिय समिति, आइसिसी र स्वास्थ्य विज्ञहरुको संयुक्त बैठक शनिबार (साँझ ६:४५ नेपाल समय) मा हुन लागेको महासचिव डा. हेमराज शर्माले जानकारी दिए । संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति छन् ।
संघद्वारा आइतबार गठित उच्चस्तरीय समितिको बैठक भोलि बिहीबार बस्ने भएको छ । संघले एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरेको थियो । उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधार छन् ।
बैठक देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरुयोजना तयार गर्नेलगायत सचेतनामूलक सामग्री तयार गर्ने , वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगका लागि नेपाली भाषामा प्रचार सामग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामग्री उपलब्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल सरकारसम्म पुर्याउनेलगायतको एजेन्डामा केन्द्रित हुनेछ ।
चीनबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोनभाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले सक्रियता देखाएको हो । संघका आन्तरिक विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय परिषदको बैठक २२ मार्चका लागि तय गरिएको संघले जनाएको छ ।
प्रकाशित समय : १७:०३ बजे



















