गृहपृष्ठ तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
oplus_2
स्याङ्जाका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफलभएका हुन । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनि तरकारीखेतीमा होमिएका हुन ।
एघार वर्षअघि ‘प्रगतिशील कृषि फर्म’ दर्ता गरी तरकारीखेती सुरु गर्नुभएका डुम्रेको हालको मुख्य आम्दानीको स्रोत नै यही हो । “समयानुसारका मौसमी तथा बेमौसमी तरकारी, बिरुवा उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उनले भने “कृषिबाट नै राम्रो आम्दानी भइरहेको छ ।” डुम्रेले टनेलभित्र र बाहिरी जमिनमा बन्दा, काउली, ब्रोकाउली, सिमी, बोडी, साग, काक्रा, मुला, भेण्टा, घिरौँला, करेला, टमाटर, आलुलगायतका तरकारी उत्पादन र बिक्री गर्दै आएका छन । उनले हाल झण्डै छ रोपनी जमिनमा तरकारीखेती गर्दै आएका छन् ।
“तरकारी तथा बिरुवा बिक्रीबाट एक वर्षमा छ लाख ५० हजार आम्दानी भयो”, उनले भने, “यहाँ उत्पादन भएको ताजा तरकारी बिक्रीका लागि हालसम्म कुनै समस्या भएको छैन, बिक्री भएन भन्ने चिन्ता छैन ।”
स्याङ्जा र पर्वतको सिमानामा रहेको हुल्काङबाट सबैभन्दा नजिकको दुरीमा रहेको पर्वतको पैयूँ गाउँपालिकाको हातेमालो चोक बजारमा खपत हुने गरेको छ । हातेमालो चोकसँगै केही तरकारीहरु स्याङ्जाको वालिङ बजारमा खपत हुने गरेको उनले सुनाए। वालिङ–हातेमालोचोक जोड्ने सडकको किनारामै भएकाले यहाँ चल्ने सवारीसाधनमार्फत बजारीकरणमा सहज भएको डुम्रेले बताए।
डुम्रेले व्यावसायिक तरकारीखेतीसँगै बाख्रापालन, कागती, अमिला जातका फलफूलको खेती पनि गरिरहेका छन् ।
प्रकाशित समय : १४:२८ बजे


















