global ime bank Long Banner Ad

गृहपृष्ठ ‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’

‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’

‘स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएको छ । तनहुँको भानुमा आजदेखि सुरू भएको प्रथम भानु नगर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले मेला महोत्सव स्थानीय वस्तुको बिक्री र बजारीकरणका लागि सहयोगी बन्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले मेला महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताउँदै आर्थिक समृद्धि अहिलेको मुख्य लक्ष्य रहेको बताए । भानुमा आयोजित महोत्सवले नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने भनाइ थियो ।

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।

भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजना तथा भानु नगरपालिकाको सहआयोजनामा सुरू महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरूलाई विशेष प्राथमिकता दिने श्रेष्ठको भनाइ थियो ।

महोत्सवका प्रवक्ता लालकुमार श्रेष्ठले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिकलगायत प्रदर्शनीहरू राखिएको बताए । महोत्सवमा एक सय २० वटा कक्ष रहनेछन् । प्रवक्ता श्रेष्ठका अनुसार स्वदेशी र विदेशी पर्यटक गरी एक लाखभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ

प्रकाशित समय : २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु