global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रवि लामिछाने पक्राउः अरुलाई छुट दिए, आफुले पाएनन्

रवि लामिछाने पक्राउः अरुलाई छुट दिए, आफुले पाएनन्

रवि लामिछाने पक्राउः अरुलाई छुट दिए, आफुले पाएनन्

आफ्नाविरुद्ध पक्राउ पुर्जी जारी भएर प्रहरी पक्राउ नै गर्न पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले भने– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश आकोल्दै रविले भने– ‘तपाईँको हातमा तस्करले दिएको करोडको घडी, मेरा हातमा चाहीँ हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, म सहकारी ठग भैदिनु पर्ने ?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्न पनि पाइयो । प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन । तर म कहिले भागेर हिडिन र हिड्दिन पनि । ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो ।’ रविले पक्राउ पर्नुअघि सरकारमाथि आक्रोश ओकाल्दै सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।

शुक्रबार आफ्नो हातमा हतकडी लाग्दै छ भन्ने विषयमा रवि लगभग जानकार थिए । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रविलाई सरकारले पक्राउ गर्न खोजेको सुराक दिउँसो बसेको विपक्षी दलको बैठकमै चुहाएपछि हडबडाएका रवि बैठक सकेर सिधैं पार्टी कार्यालय वनस्थली पुगे । रवि पार्टी कार्यालय पुगेपछि नेता कार्यकर्तालाई उपस्थित हुन तल्लो तहका नेताहरुले उर्दि जारी गरे । लगतै घण्टी घर कार्यकर्ताले भरियो ।

उनीहरुले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिए । रविले सुईको पाएर नेता कार्यकर्ता जम्मा गर्दैगर्दा उनीविरुद्ध पक्राउ पूर्जी ल्याउन कास्की प्रहरी जिल्ला अदालत पुगिसकेको थियो । संयोग पनि कस्तो भने दसैं विदामा रहेका जिल्ला अदालत कास्कीका ७ मध्ये ६ न्यायाधीश विदामै थिए । तर सरकारको ताकेता पछि नेपालगञ्जमा रहेका न्यायाधीश कृष्णजङ्ग शाह विमानमार्फत पोखरा उत्रिएर कार्यालयमा पुगेपछि रविविरुद्ध अपरान्ह पक्राउ पूर्जी जारी भयो । जिल्ला अदालत कास्कीले रविसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

राजनीतिका चतुर खेलाडी ओलीले आफ्नै सरकारको पालामा रविलाई उठाईदिएका छन् । स्मरण रहोस्, कुनैबेला ओली नै हुन्, जसले बुई बोकेर रविलाई गृहमन्त्री बनाएका थिए ।

रवि पक्राउ पर्दैछन् भन्ने कुरामा रास्वपा लगभग यसअघि नै कन्भिन्स थियो । फलतः उसले विपक्षी मोर्चासँग मिलेर प्रतिकारको नीति पनि बनायो । रास्वपासहित माओवादी र एकिकृत समाजवादीका नेताहरुले पनि राजनीतिक आग्रह पूर्वाग्रह राखेर पक्राउ गरे प्रतिवाद गर्नेसम्मको चेतावनी दिए । तर विपक्षीको प्रतिवादका बीच सरकारले रविलाई पक्राउ गरेको छ ।

यसअघि पनि रविलाई पक्राउ गर्ने तयारी नभएको होइन । कांग्रेस–एमालेको मुख्य चासो नै यतिबेला रविको पक्राउ बनेको छ । सहकारी छानबिन समितिले रविलाई कारबाही सिफारिस गर्न बित्तिकै उनीहरु पक्राउ गर्न चाहन्थे । तर सरकार पक्राउभन्दा बढी ट्रयाल गर्न व्यस्त बन्यो । रविसँगै कारबाही सिफारिस परेका छबिलाल जोशीलाई सरकारले असोज ६ मा पक्राउ गरेको थियो । जतिबेलै रविलाई पनि पक्राउ गर्ने भन्दै प्रहरीलाई पार्टी कार्यालयमै रेकी गर्न पठाएपछि रविले कार्यकर्ता नै बोलाएर सम्बोधन गरेका थिए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि भने गलेका रविले कार्यकर्तालाई सम्बोधन गरेरै अनुसन्धानमा सघाउने बन्दै गिरफ्तारी दिएका छन् । योसँगै उनी जीवनकालमा दोस्रोपटक जेल बस्न बाध्य बनेका छन् । जाँदाजाँदै रविले आफ्नाविरुद्ध जारी भएको पक्राउ पुर्जी बुझ्दै बाँचेर फर्किए सब भ्रष्टाचारीलाई जेल कोच्ने दाबी गरे । श्रीमती निकितालाई म ठग होइन भन्दै अंकमाल गर्दा भक्कानिए । जतिबेला रास्वपाका नेताहरु भावुक बनेर कतिका आँखामा आँशु टिलपिल भएको थियो ।

छबिलाल जोशीको पक्राउ लगत्तै उही मुद्दामा जीबी राईकी प्रेमिका भनिएकी लिला पछाईँलाई समात्दा पनि सरकारले रविलाई आतंकित पार्ने काम मात्र गरेको थियो । त्यसपछि दसैंकै मौकामा पक्राउ गर्ने चर्चा चल्यो । त्यसपछि पनि दसैं सकिएलगत्तै पक्राउ गर्ने सूचना बाहिर आयो । तर हल्ला चलाएर आतंकित पार्ने काम गर्दै आएको सरकारले शुक्रबार हल्लैहल्लाको बीचबाट पक्राउ पूर्जी थमाएर रविलाई उठाएको छ।

यीनीहरुलाई छुट दिनुको परिणाम रविलाई अहिले बल्ल महसुस भएको छ । आफु सहकारीमा पक्राउ पर्नुभन्दा पहिला स्वर्णिम अवसरमा थियो । गिरीबन्धुमा ओली, नक्कली शरणार्थीमा आरजु, बालुवाटार, वाईडबडी, टेरामक्स र टिकापुरमा एकएकलाई किन्तु परन्तु नभनि जेल हालिदिएको भए आज यो अवस्था भोग्नुपर्ने थिएन । हिजो उनले जसलाई जोगाउन खोजे, आज उनैले फसाए । हिजो रविले छुट दिए, तर आज आफुले छुट पाएनन् । हिजो उनीलाई भित्र कोच्ने आट देखाएनन्, आज उनैले आट देखाएर कोचिदिए । त्यसैले समय बलवान् छ । समयले पर्खिदैन र समयमै गर्नुपर्ने तमाम गर्नुपर्छ यसै भनिएको कहाँ होर । अन्ततः पार्टी कार्यालयभित्रै घुसेर प्रहरीले चिलले चल्लो टिपेजसरी टपक्क उठाएर लियो ।

बालुवाटार र सिंहदरबारभित्र खानेहरुकै भेला छ । दुई ठूला दल मिलेर अहिले झन हाइसुक्कसँग खाने बाटो खोज्दैछन् । अर्बौ खाएर यीनीहरुको चिन्ता भने गोर्खा मिडियामा रवि लामिछानेले खाएको केही करोडमा परेको छ । अर्थात् क्वन्टली सुनचोरले फुली चोरलाई चोर भन्दैछ । ८८ अर्ब ठग्ने असली ठगका बारेमा चिन्ता छैन । ६५ करोडको मामिलामा रविलाई पक्राउ नगरि एमाले–काँग्रेसलाई भएकै छैन । फलतः अनेक जालझेल र उतारचढावपछि रवि लामिछानेविरुद्ध आजमात्रै पक्राउ पुर्जी जारी भएर उनी पक्राउ परेका छन् । उनलाई गोर्खा मिडियामा आएको रकम परिचालनका विषयमा होइन, सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोपमा छानबिन गर्न अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएपछि आज नै उनी पक्राउ परेका हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शनसहितका सहकारीबाट गोर्खा मिडियामा आएको ६५ करोड अपचलनमा रविलाई पनि कारबाही सिफारिस गरेको थियो । गोरखा मिडियामा आएर खर्च भएको पैसाको जिम्मेवारी लिनुपरे आफु तयार रहेको सन्देश रविले यसअघि नै दिएका थिए । तर सरकारले उनीविरुद्ध ठगी र संगठित अपराधको मुद्दासमेत लगाउने तयार गरेको छ । जसका विरुद्ध रास्वपा प्रतिवादमा उत्रिएको छ । जसलाई अहिले सत्ताविहिन विपक्षी दलहरुले समेत साथ दिइरहेका छन् । मुलतः रविको पक्राउ र विपक्षी सशंकित भएको विषय पनि यही हो । तथापी सरकारले अहिलेसम्म कारबाही प्रक्रियाभन्दा पनि यसलाई जिस्क्याउने र तर्साउने हतियारका रुपमामात्रै नाटक मञ्चन गरिरहेको छ । किनकि कारबाही गर्नुपर्ने असली ठगहरुलाई पनि हुनुपर्ने हो । ६५ करोडका पछाडी सारा शक्ति खन्याएर ८८ अर्ब लुट्ने असली सहकारी ठगहरुको पक्षपोषक सरकार नै हो । अहिलेको यो कदम कारबाहीभन्दा बढी पाखण्डीपन पनि हो ।

विगतमा सत्ता र शक्तिमा भएकै बेला बालकृष्ण खाड र टोपबहादुर रायमाझी पक्राउ परेका थिए । उनीहरु पक्राउ पर्दा पनि आकाशै खसेको थिएन । अब रवि पक्राउ परेर पनि आकाशै खस्दैन । कानुनले आफ्नो काम गर्छ । प्रमाणबिनै थुन्न र धेरै दिन हुल्न मिल्दैन । प्रमाण भएकै कारण टोपबहादुर रायमाझीहरु अझै जेलमै छन् । आफैले बनाएको छानबिन समितिले गरेको कारबाही सिफारिसकै आधारमा प्रहरीले पक्राउ पर्दा धेरै दलहरुले समेत कानुनलाई सघाउनुको विकल्प छैन । हाम्रो भनाइ, यत्ति हो कि, निर्दाेष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । हिजो आफु सत्तामै भएका बेला नाम चलेका भ्रष्टहरुलाई यसैगरि थुनिदिएको भए, आज यो अवस्था नआउन पनि सक्थ्यो । तर त्यतिबेला गरिएन अहिले आफैले भोग्नुपर्‍याे ।

प्रकाशित समय : १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु