गृहपृष्ठ विद्युत महसुल नतिर्ने ग्राहकप्रति प्राधिकरण आक्रामक, २० दिनमा काट्यो २१ हजार लाइन
विद्युत महसुल नतिर्ने ग्राहकप्रति प्राधिकरण आक्रामक, २० दिनमा काट्यो २१ हजार लाइन
नेपाल विद्युत प्राधिकरण महसुल नतिर्ने ग्राहकप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ। प्राधिकरणले पछिल्लो २० दिनमा २१ हजार ग्राहकको लाइन काटेको छ।
भदौ ११ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ ग्राहकको लाइन काटेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार लाइन काटिएका ग्राहकबाट ४० करोड ४२ लाख १७ हजार २८ रुपैयाँ महसुल उठाउन बाँकी रहेकामा १५ हजार २२३ ग्राहकबाट २४ करोड ६ लाख ८५ हजार ४८८ रुपैयाँ उठाइएको छ। प्राधिकरणले महसुल तिर्ने ग्राहकको लाइन जोडिदिएको छ।
महसुल बुझाउन बाँकी ५ हजार ७८० ग्राहकको लाइन नजोडेको प्राधिकरणका एक कर्मचारीले बताए।
कुन कार्यालय मातहत कति लाइन काटियो ?
प्राधिकरणको मधेस प्रादेशिक कार्यालयले सबैभन्दा धेरै ग्राहकको लाइन काटेको छ। यो कार्यालयले ४ हजार ६३४ ग्राहकको लाइन काटेको हो। ती ग्राहकबाट ६ करोड ५२ लाख ८ हजार ८७९ रुपैयाँ महसुल उठाउन बाँकी थियो।
यस्तै कोशी प्रादेशिक कार्यालय विराटनगरले ४ हजार ५६, बागमती प्रादेशिक कार्यालय काठमाडौंले ९३७, बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले १ हजार ४२६, गण्डकी प्रादेशिक कार्यालय पोखराले २ हजार ३७५, लुम्बिनी प्रदेश डिभिजन कार्यालय बुटवलले २ हजार ९७२ र नेपालगञ्जले २ हजार ४०६, कर्णाली प्रादेशिक कार्यालयले सुर्खेतले १ हजार ७९९ र सुदूरपश्चिम कार्यालय अत्तरियाले ३९८ ग्राहकको लाइन काटेका छन्।
प्रकाशित समय : ०७:३३ बजे



















