global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल चिनाउने भूवनसिंह पर्यावरण संरक्षणमा

नेपाल चिनाउने भूवनसिंह पर्यावरण संरक्षणमा

उमेरले ७३ वर्ष पुगेका भूवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुगेका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुगे भन्ने धेरैको जिज्ञासा छ ।

विसं २००९ मा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली छन । उनि भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकका रुपमा त्यहाँ पुगेका थिए । पर्यावरण संरक्षण र फोहर व्यवस्थापनमा प्रविधिक समूहमा रहेर अन्टार्कटिका पुगेका विश्वकर्मा गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा छन् ।

“अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पूरा ग-यो, भारतीय सेनामा कार्यरत रहँदा भारतले वैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँको बसाइ व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्दथ्यो”, विश्वकर्माले ३८ वर्ष अघिको कुरा सम्झँदै भने, “मेरो शारीरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो, मलाई आर्थिक उपार्जनभन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलो पटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पु-याए ।”

भारतीय सेना हुँदै अन्टार्कटिकाको यात्रा

बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका छन् । उनको नाममा उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको नामकरणसमेत गरिसकेको छ । प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्मा बागलुङ मात्रै नभइ सिङ्गो नेपालको नाम चिनाउन सफल भएका छन् । हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउँदै सम्मान थाप्न व्यस्त छन् ।

उनले हिउँमा फोहर व्यवस्थापनको काममा दख्खल रहेको बताउँदै अन्टार्कटिकामा कुनै फोहर गर्न नपाइने भन्दै मानव दिसालाई समेत खरानी बनाएर फर्किनुपर्ने बताए । “अन्टार्कटिकामा कुनै फोहर गर्न पाइँदैन, मानव दिसा त्यहाँ चिसोका कारण जस्ताको तस्तै हुन्छ, भान्साबाट निस्कने फोहरलाई प्रशोधन गर्ने र जलाएर खरानी बनाएर भारत नै फर्काउने गरिन्थ्यो”, उनले भने, “नेपालको सगरमाथा बेसक्याम्पदेखि चुचुरोसम्म फोहरैफोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहरमुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरीरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको त्यस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैसँग राखेर ल्याउन सकिन्छ ।”

भारतको गोवाबाट २२ दिनको लामो समुद्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उनको भनाइ छ । अन्टार्कटिकामा छ महिना उज्यालो र छ महिना अध्यारो हुने गर्दछ । नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुलीदेखि कैलाली र झापासम्म सम्मान पाएको विश्वकर्माको भनाइ छ । बागलुङ नगरपालिकाले समेत यही भदौं १८ गते २५ हजारसहित सम्मान गरेको उनले बताए । गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोभन्दा ठूलो सम्मान मिलेको बताए ।

अहिले विद्यालयमा पर्यावरणसम्बन्धी सचेतना पु-याउने कार्यमा लागेका छन् । “हाम्रो सगरमाथाको वेसक्याम्पदेखि चुचुरोसम्म थुप्रै फोहर छ, सगरमाथा यात्रीको दिसा जस्ताको त्यस्तै छ, त्यसलाई जलाएर आफैले फर्काउने व्यवस्थापन मिलाउन आवश्यक छ”, विश्वकर्माले भने ।

“अन्टार्कटिकाका लागि शारीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्नसक्ने योग्य व्यक्तिलाई मात्र छनोट गरिन्थ्यो”, विश्वकर्माले भने “सबै मापदण्ड र विशेषताले निपूर्ण भएपछि मात्रै त्यहाँ जानका लागि छनोटमा परिन्छ, मलाई त्यहाँ नपुग्दासम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीसमेत पुगिसक्नुभएको छ ।”

 

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु