गृहपृष्ठ कोलमती घाटमा स्नान गर्नेको भीड
कोलमती घाटमा स्नान गर्नेको भीड
प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन आज बिहानदेखि कोलमती घाटमा स्नान गर्नआउने भक्तजनको भीड लागेको छ ।
कागेश्वरी नगरपालिका–४ डाँछीस्थित कोलमती घाटस्नान गर्न आज यहाँ भक्तजनको भीड लागेको हो । आजको दिन यहाँ स्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड ९नेपाल माहात्म्य० लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । वाग्मती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ ।
पण्डित बालमुकुन्द देवकोटा कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको बताउनुहुन्छ । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।
कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा पाइन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । यहाँ ब्रह्माले वामन रूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ ।
प्रकाशित समय : १८:४० बजे



















