गृहपृष्ठ बजेटमा भैरहवा र पोखरा विमानस्थलको विषय उठेन, १६ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पुरा होला ?
बजेटमा भैरहवा र पोखरा विमानस्थलको विषय उठेन, १६ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य पुरा होला ?
अर्थमन्त्री वर्षमान पुनले पर्यटनलाई आर्थिक समृद्धिमा योगदान दिन सक्ने रुपान्तकारी मुख्य क्षेत्र भनेर पहिचान गरेपनि पोखरा विमानस्थल र भैरहवा विमानस्थलमा कसरी अन्तर्राष्ट्रिय उडान बढाउने भनेर केही उल्लेख गरेनन ।
बजेटमा पुनले १६ लाख पर्यटक ल्याउने घोषणा गरेपनि काठमाडौं बाहिरको अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आएको वर्षदिन बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडानलाई कसरी नियमित बनाउने भन्ने विषयमा कुनै पनि बुँदा बजेट वक्तव्यमा परेको छैन् । पर्यटन उद्यमीहरुले विभिन्न एयरलाइन्सलाई पोखरा र भैरहवामा नियमित उडान होस् भन्ने चाहेका थिए ।
केही विषय थाती नै रहे पनि अर्थमन्त्री पुनले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटलाई पर्यटनकर्मीहरुले स्वागत नै गरेका छन । विकासका पाँच वटा रुपान्तकारी मुख्य क्षेत्रमध्ये आर्थिक समृद्धि दिनसक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी घोषणा गरेकोमा पर्यटनकर्मीहरुले यसको स्वागत गरेका हुन ।
अर्थमन्त्री पुनले बजेटमार्फत पाँचवटा प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत पर्यटन पूर्वाधार निर्माणलाई राखेर यसको लागि ११ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरी १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । नेपाल पर्यटन बोर्ड निर्देशक मणिराज लामिछानेले नयाँ बजेटमा पर्यटन क्षेत्रलाई रुपान्तरणकारी क्षेत्रको रुपमा परिभाषित गरेर पर्यटनलाई प्राथमिकतामा राखेको देखिएको बताए ।
पर्यटकलाई एकद्वार प्रणालीमा राखेर ट्रेकिङ पर्मिट, भिसा एक्सटेन्सनलगायतका आवश्यक सेवाहरु दिन सकिने बुँदा समेत बजेटमा समेटिएको छ । छिमेकी मुलुक भारत र चीनका मुख्य शहरहरुमा पर्यटन लक्षित रोड सो, मेला महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्नुको साथै नेपाल पर्यटन बोर्डले धेरै अगाडिदेखि भनिराखेको बोर्डर टुरिज्मको अवधारणालाई समेत बजेटले सम्बोधन गरेको उनले बताए।
बोर्डर टुरिज्मलाई नै हाइलाइट गरेर बजेटमा सीमानाबाट पशुपतिनाथ, स्वर्गद्वारी र मुक्तिनाथ दर्शन यातायात सेवा शुरु गर्ने व्यवस्था मिलाउने समेत बजेटमा उल्लेख गरिएको छ । ‘सिजनको समयमा टिकट नपाउने वा महंंगो हुने समस्या यो व्यवस्थाले हल हुने आशा गरिएको छ ।’उनले भने ।
भारतबाट विशेषगरी स्वर्गद्वारी र मुक्तिनाथ दर्शन गर्न हजारौं भारतीय आउने गरेका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापनाको लागि निजी क्षेत्रलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने बुँँदा बजेटमा उल्लेख छ । यसले सम्भावना भएका क्षेत्रहरुमा निजी क्षेत्रले होटल पूर्वाधार निर्माण गर्न सकिने अवस्था रहेको उनले बताए ।
त्यस्ता स्थानहरुमा सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा पहुँच मार्ग, विद्युत सेवा, खानेपानीको व्यवस्था गरिदिने प्रतिबद्धता बजेटमा गरिएको छ ।
नेपाल पर्यटन बोर्डले यसअघि नै वेडिङ डेस्टिनेसन समिट भनेर एउटा कार्यक्रम आयोजना गरिसकेको छ । बजेटमा सीताको जन्मस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मेको लुम्बिनीलाई बर्थिङ हवको रुपमा प्रबर्द्धन गर्ने उल्लेख गरेका छन् ।
नेपाल पर्यटन बोर्डले भने यसअघि वेडिङ डेस्टिनेसन समिट आयोजना गरेर लुम्बिनीमा विवाह गर्ने र गौतम बुद्ध जन्मेको स्थानमा बच्चा जन्माउने अवधारणा ल्याएको निर्देशक लामिछानेले बताए । त्यसको लागि लुम्बिनीमा सिद्धार्थ गौतम म्याटर्निटी हस्पिटल स्थापनाको लागि लगानी सम्मेलनमा प्रस्ताव राखेको बताए ।
हानको स्वागत
२०८१/८२ को राष्ट्रिय वार्षिक बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मूख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा भएका कार्यक्रमहरुको कार्यान्वयन निजी क्षेत्रको प्रचुर सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति स्वागतयोग्य रहेको होटल संघ नेपालले जनाएको छ ।
संघले जारी गरेको प्रेस वक्तव्यमा सातै प्रदेश समिटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने गतिविधि अवधारणा उल्लेखनीय रहेको संघले जनाएको छ ।
व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको क्रस बोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बस सेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको संघले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने, ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने बजेटको योजना सकारात्मक रहको होटल संघ नेपालले जनाएको छ ।
१६ लाख पर्यटक भित्राउने लक्ष्य मौजुदा होटल र पर्यटनको सेवा क्षमताको आधा मात्र रहेको जनाउँदै काठमाडौं लगायत नवनिर्मित भैरहवा र पोखराको अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्न सके हालको पर्यटक आगमन दोब्बर गर्न सकिने हानले जनाएको छ । तर सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लेखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नआएकोमा भने संघले दुःख व्यक्त गरेको छ ।
हवाइ टिकटमा भ्याट नहट्दा नाट्टा रुष्ट
हवाई भाडामा भ्याट नहटाएकोमा नेपाल टुर एन्ड ट्राभल एजेन्ट एसोसिएसन (नाट्टा)का अध्यक्ष रमेश थापाले गम्भिर असन्तुष्टि पोखे । ‘१६ लाख पर्यटक ल्याउने भनेर मात्रै भएन, त्यसको लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने भनेको कनेक्टिभिटीले हो । भ्याटका कारण नेपालको आउनबाउन्ड फ्लाइट फेरि महंगो भएको छ । अहिले काठमाडौं दिल्ली उडान टिकट ६० हजार छ भने दिल्ली काठमाडौं टिकट १२ हजार मात्रै रहेको छ । अब धेरैले नेपालबाट टिकट नकाटेर दिल्लीबाट टिकट काटेर फर्कन थालेको छ ।
अहिले एसियाली देशहरुको टिकट काट्दा ८ हजार रुपैयाँसम्म भ्याट तिर्नु परिरहेको छ भने युरोपेली देशहरु र अमेरिकाको टिकट काट्दा २० देखि २५ हजारसम्म भ्याट तिर्नुपर्छ। ‘उडान टिकट सस्तो भए पो बढी भन्दा बढी पर्यटक भित्रिन्छन् ।
प्रकाशित समय : १९:३३ बजे

















