nmb bank

गृहपृष्ठ चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटी सप्तरीको संयुक्त आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पस राजविराज, मिसन कलेज र पदमा एन्ड टुरिजम बथनाहाको सहकार्यमा खाना खुवाउने व्यवस्था मिलाइएको हो । सो कार्यक्रमअन्तर्गत बिहान र बेलुका निःशुल्क खाना खुवाउने गरिएको सप्तरी युथ नेपालका कार्यवाहक अध्यक्ष मोहनकुमार यादवले जानकारी दिए ।

परामर्श सेवा केन्द्रले अग्निपीडितका लागि एक सय किलो चामल, २५ किलो दाल, पाँच लिटर खानेतेल, ५५ किलो तरकारी,  ५० किलो  तरबुजा, ४० किलो दही र दुई कार्टुन पानी उपलब्ध गराएको छ । चिम्टी अग्निपीडितलाई कर परामर्श सेवा केन्द्र राजविराजले खाद्यान्न उपलब्ध गराएको छ । सप्तरी युथ नेपालका विपद् व्यवस्थापन समिति संयोजक सत्येन्द्र यादवका अनुसार दैनिक भोजन सेवा सञ्चालन गरी खाना खुवाउने व्यवस्था मिलाइएको हो । अग्निपीडितलाई  दैनिक बिहान र बेलुका खाना खुवाउने गरिएको छ ।

विगत पाँच दिनदेखि बिहान र बेलुका निःशुल्क रुपमा दैनिक भोजन सेवा अन्तर्गत एक दिन बिहानको खाना, राजविराज नगरपालिका(१० बिरोलका स्थानीय र बेलुकाको खाना गैरआवासीय अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेको संयोजक यादवले जानकारी दिए।

अग्निपीडित खुल्ला आकाशमुनि 

महादेवा गाउँपालिका(१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसिरहेको छ ।  दिन र रात कटाउन मुस्किल परेको छ ।

आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको  दुखेसो पोखे । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि  धुलो हुने गरेको बताए । समस्या समाधानका लागि सरकारलाई सहयोगको आग्रह गरे।

अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोखे ।

७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले  बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाए ।  “यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौतीे छ ।” आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको गुनासो छ ।

वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिए । अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ ।

स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका–१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु