गृहपृष्ठ बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय
बिग्रेका उपकरण मर्मत गरी सञ्चालन गर्दै मन्त्रालय
This image shows the building of the Ministry of Health and Population in Ramshahpath, Kathmandu, in May 2021. Photo courtesy: Ajay Sharma
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा बिग्रिएका औजार र उपकरण मर्मत गरी सञ्चालन गर्न थालेको छ । सोहीअनुसार मन्त्रालयले सातवटै प्रदेशमा ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयले नीति अनुसार नै नयाँ उपकरण किन्नुभन्दा पनि बिग्रिएका तथा पुराना उपकरणको मर्मत गरी सञ्चालन गर्न थालेको बताए । “स्वास्थ्यका धेरै उपकरण बिग्रेर सञ्चालन भएका छैनन् । ती उपकरणलाई हामीले मर्मत गरी सञ्चालन गरिरहेका छौँ”, उनले भने ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले पुराना तथा बिग्रिएका उपकरणको मर्मत गरी सञ्चालन गर्नका लागि ‘बायोमेडिकल वर्कसप’ स्थापना गरेको छ । महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले सातवटै प्रदेशमा अहिले पुराना, नचल्ने उपकरण मर्मत गरी सञ्चालन गर्ने कार्य भइरहेको जानकारी दिए । उनका अनुसार मधेश र कोशी प्रदेशबाहेक सबै प्रदेशमा वर्कसप स्थापना गरिएको छ ।
“पुराना, बिग्रिएका सामान मर्मत गरी सञ्चालन हुन्छन् भनेर पुराना उपकरण मर्मत गरिरहेका छौँ”, चौरसियाले भने, “यसले गर्दा राज्यको पैसा पनि बचत हुने र पुराना उपकरण मर्मत भई प्रयोगमा ल्याउन सकिन्छ । कम खर्चमा स्वास्थ्य उपकरण प्रयोग गर्न सकेमा अस्पतालहरुमा आवश्यकताअनुसार उपकरण उपलब्ध गराउन पनि सकिन्छ ।” उहाँका अनुसार वर्कसप प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो ।
बायोमेडिकल इञ्जिनियरिङको समूहले ती बिग्रेका, थन्किएका स्वास्थ्य उपरकणको मर्मत गरी सञ्चालन गर्न मिल्ने बनाउने गरेका छन् । वर्कसपमा सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, इको, इसिजीलगायत उपचारात्मक उपकरणको मर्मतसम्भार हुने गरेको छ ।
मधेश प्रदेशमा बजेट विनियोजन भइसकेकाले चालु आर्थिक वर्षमा वर्कसप स्थापना गरिने चौरसियाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा विश्व बैंकसँग वर्कसप स्थापना गर्नका लागि मन्त्रालयले सम्झौता गरेको छ ।
प्रकाशित समय : १६:३४ बजे



















