गृहपृष्ठ ४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ
४७ किलो अवैध चाँदीसहित तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनीष सर्राफ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि गरी बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
प्रकाशित समय : १७:०६ बजे



















