गृहपृष्ठ बालकोटमा घट्दै ‘बा ब्राण्डको भ्यालू’
बालकोटमा घट्दै ‘बा ब्राण्डको भ्यालू’
सधैंजसाे चर्चामा आइरहने एमाले अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमा सत्तालाई तिखो प्रहार हुन्छ । प्रचण्डले फागुन १२ मा धोका दिएपछि त्यो श्रृखंला झन व्यापक बनेको छ । बिहिबार ओलीले बोली र गोलीको कुरा एकसाथ गरे ।
नेकपा एमालेका अध्यक्ष ओलीले भने, ‘मलाई गोली हान्न सक्छन्, तर हतकडी लगाउन सक्दैनन् ।’ एउटा शक्तिशाली पार्टीको अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट आएको अभिव्यक्ति सतही मान्नै सकिएन । ओलीलाई कसले गोली हान्न खोज्यो भन्ने सवालको विजारोपण यसले गर्यो । तर पछिल्लो समय ओली पक्राउ पर्छन् भन्ने दाबीसहित सार्वजनिक भएका भनाइलाई लक्षित गरि ओली बोलेको देखिन्छ । ‘पहिले पञ्चायत कालमा जस्तै झुटैमा जाने हो भने बेग्लै कुरा हो’ हुँदै नभएको कुरामा १० वर्ष सजाय भनेर सुनाएको र त्यो अवधि पूरा भएपछि पनि ४ वर्ष त्यसै थुनेको थियो । अहिले पनि कानुनले हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, राखेको छैन ।’ एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भनेका थिए, ‘कसैले गोली हान्न सक्ने तर कानुनी रुपमा हत्कडी लगाउन सक्दैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार काण्डका फाइलहरु खोल्ने र बीचमै अलमल पार्ने श्रृखंला सुरु गरेको छ । यसअघि नै खोलिएका फाइलहरुले निष्कर्ष भेट्टाएका छैनन् । तर ओली जोडिएको गिरीबन्धु टि–स्टेटको जग्गा सट्टाभर्नासम्बन्धि फाइल खोल्ने चर्चाले ओलीलाई झस्काईरहेको छ । फलतः ओलीले सोही विषयमाथि टेकेर आफु मन्त्री वा प्रधानमन्त्री हुँदा कानुनी रुपमा हतकडी लगाउने ठाउँ नछोडेको तर प्रतिशोध साँधेर आफुलाई गोली हान्न सक्ने ठाउँ रहेको दाबी गरेका हुन् । जसको शंका सोझै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि केन्द्रीत थियो । गिरीबन्धुकै चर्चा पछि बुधबारमात्रै ओलीले त्यो छानबिन गर्न आवश्यक नै नभएको तर सरकार चाहे गरोस् भन्ने जवाफ दिएका थिए ।
एमाले अध्यक्ष ओलीको बोली यसै फुटेको होइन । सरकारले आफ्नाविरुद्ध कुनै निर्णायक कदम चाल्नसक्छ भन्ने बुझेरै फुटेको हुनसक्ने भाव ओलीको भनाइमा झल्किन्छ । किनकि केही दिनअघिमात्रै सम्पादकहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले गिरीबन्धुको फाइल पनि विस्तारै खोल्ने दाबी गरेका थिए । हरेक मुद्दामा सरकारलाई अफ्ठ्यारो पार्ने गरि कदम चालिरहेका ओलीलाई साइजमा राख्न हो ? वा साँच्चिकै कसैलाई नछोड्ने नियतीका साथ हो ? अथवा फाइल खोलेर बीचमै कुनै सौदावाजी गर्न हो ? प्रधानमन्त्रीले फाइल खोलेरै छोड्ने संकेत गरेका छन् । झन सत्तापक्षकै सांसदले ओली एकबर्षभित्रै पक्राउ पर्ने शंकास्पद अभिव्यक्ति दिएपछि ओली आक्रोशित हुनु वा भड्किनुले अर्थ दिएको छ । ‘हरेक भ्रष्टाचारका काण्डमा ओलीको नाम आउँछ । सुनकाण्डमा पनि आईसक्यो’, नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भने, केहीसमयभित्रै ओली पक्राउ पर्छन् ।’
चौधरीको भनाइमा परिपक्कता नदेखिएपनि गम्भीर्यतासहित सत्ताको गन्ध आइरहेको थियो । अर्थात सत्ताभित्र भइरहेको छलफललाई उनी बाहिर प्रकट गर्न खोजिरहेका थिए ।
राष्ट्रिय राजनीतिमा एकपछि अर्काे हार्दै आएका ओलीको छटपटी बढ्नु स्वाभाविकै हो । तर मर्ने मार्नेसम्मका अभिव्यक्ति आउनुको अन्तर्य बुझ्न कठिन छ । ओली राष्ट्रिय राजनीतिमात्रै होइन, आफ्नै पार्टीभित्र पनि घेराबन्दीमा छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउन नेताहरुले गृहकार्य चलाएपछि ओली यसैपनि रुष्ट छन् । ओलीका एजेन्डालाई कुनै पनि पार्टीले पत्याइरहेका छैनन् । हिजोसँगसँगै हिडेका रास्वपा र राप्रपा पछिल्लो उच्चस्तरिय छानबिन समिति बनाउने एमालेको मागमा सकारात्मक थिएनन् । तैपनि संसद बन्दका बन्दै भएपछि सरकारले एमालेको मागलाई सम्बोधन गरेको छ।
सधैं वाहवाही हुने बा ब्राण्डको भ्यालू हिजोआज बालकोटमा घट्न थालेको छ । त्यसको कारण भने, ओली सत्ताको खेलमा हारेका छन् । सत्ता नभए पछाडी लाग्ने कार्यकर्तासमेत रहँदैनन् । अर्काे हरेक भ्रष्टाचारका फाइल खोलिँदै ओलीकै नाम अग्रभागमा आउने गरेको छ । कतै न कतै उच्चस्तरिय छानबिन समितिकै माग गरेर एक महिना संसद बन्द गर्नुका पछाडी आफु जोडिएका भ्रष्टाचारका काण्डमा सौदाबाजी खोज्न रचिएको अस्त्र त होइन ? शंका गर्न थालिएको छ । फलतः ओली कसैको डरमा छन् तर आफ्नै बोलीको भरमा छैनन् ।
प्रकाशित समय : ०९:०० बजे




















