गृहपृष्ठ मेरो लभ पर्न विदेश नै जानुपर्ने हो ?
मेरो लभ पर्न विदेश नै जानुपर्ने हो ?
लभ के हो ? सायद यसको परिभाषा त्यति सजिलो छैन । भन्नकै लागि लभ अफ्ठ्यारो पनि छैन । मान्छेले लभलाई आफ्नै तरिकाले परिभाषित गर्ने गरेका छन् ।
कतिपयले लभलाई ‘मोजमस्ति’को रुपमा परिभाषित गर्ने गर्छन् । कतिपयले ‘टाइम पास’ अर्थात समय खपतका लागि मात्रै लभ गर्ने कुरा त संसारकै ठूलो भ्रम तर यथार्तबीचको खाडल जस्तो छ । जस्तो, दुई ढुंगामा च्यापिएको तरुलको हाल हुन्छ, त्यस्तै छ लभ भ्रम र यथार्त हो भन्ने कुरा पनि ।
लभ वास्तवमा पारस्परिक खुसी र स्नेहको एक विस्तृत भण्डार हो । अन्यप्रति गरिने स्नेह नै लभ हो । लभ सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन यो आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन ।
यो एकप्रकारको आत्माको स्वभाव हो । हरकोहीको नैसर्गिक अधिकार हो र सबैले बुझ्नैपर्ने महत्वपूर्ण कुरा लभ सेवा हो, यसले केवल सेवाभाव राख्दछ । तर लभ झगडा, रिसराग र त्यसपछिको पश्चाताप अनि पुर्नमिलनपछि पाउने बिछट्टै खुशी पनि हो । तर मेरो बुझाईमा लभको परिभाषा समय क्रमसँगै अलग अलग हुने गरेकाे छ ।
मलाई नै हेरौं न, म कुनैबेला लभ भनेको दुई जनाबीचको आर्कषण हो भन्ने गर्थे । तर अहिले मेरो लभको परिभाषा पुरै बदलिएको छ । अहिले मेरा लागि लभ भनेको जीवन विताउने संगिनीको आवश्यक्ता हाे जस्तो लाग्छ । त्यो किन हो त्यो मलाई पनि थाहा छैन । उमेरको छिप्पिदो क्रम वा समयको माग ? तथापी म भन्न आवश्यक नै ठान्दिँन्न ।
बेलाबेला आफ्नो दैनिक कामहरु सकेपछि वा कुनै दिन रातमा निन्द्रा नपरेपछि म सोच्ने गर्छु, ‘मेरो पनि कोही भइदिए हुन्थ्यो नी !’ तर यसो भन्दै गर्दा मैले यही ब्लगबाटै ‘भ्याकेन्सी एनाउन्समेन्ट’ गर्न खोजेको भने होइन ।
साथीहरुको हेर्छु जहिले प्रेमिकासँग मस्त हुन्छन् । उनीहरुको आफ्नै छुट्टै संसार छ । यसो साथीभाईसँग समय विताउँदा वा रमाइलो गर्दा पनि उनीहरु गर्लफ्रेण्डले दिएको ड्युटी भुल्दैनन् । तर, त्यस्तो गर्नेमा अधिकांश विदेश बसेर आएका साथीहरु छन् । उनीहरुको दैनिकी नै प्रेमिकालाई हरकुराको अपडेट दिने हुन्छ । आफु कहाँ जादैछु ? कोसँग छु ? के गर्दैछु ? कतिबेला आउँछु ? कतिबेला खान्छु ? कतिबेला कोसँग सुत्दैछ ? हरकुराको अपडेट चाहिने रहेछ ।
म भने साथीहरुसँग भएपछि गफ होस् भन्ने चाहन्छु । उनीहरुसँग रमाईलो होस् भन्ने लाग्छ । तर, उनीहरु प्रेमिकासँग मस्तसँग ब्यस्त हुँदा मलाई आफु अपूर्ण हो कि स्वतन्त्र हो छुट्टयाउनै मुस्किल पर्छ । तैपनि म साथीहरु आफ्नो ड्युटीमा हुँदा कि त फेसबुकमा आउने मिमहरुमा कमेन्ट गर्दै बस्छु, कि त कमेडी भिडियो हेर्दै जिन्दगीलाई खुशियाल बनाउने काम गर्छु ।
घरबाट पटकपटक ‘विदेश जा अलि धरै कमाई गर’ भनेर ममिले भन्ने गर्नुहुन्छ । तर म भने हैन नेपालमै केही गर्छु भनेर लागिरहेको छु । त्यो कतिदिनलाई हो मलाई नै थाहा छैन । मसँग स्कुल पढेका, प्लस–टू पढेका धेरै साथीहरु विदेशमा छन् । मैले चिनेजानेका धेरै व्यक्तिहरु विदेशमा छन् । कोही खाडीमा छन्, कोही युरोपको चिल्ला गाडीमा हिड्छन् ।
साना देश वा खाडी मुलुक जाने साथीका गर्लफ्रेण्डको त्यति चर्काे कहानी छैनन् । तर ठूला भनिएका देश जाने साथीका गर्लफ्रेण्डका कहानीमा दम छ । एकजना आचार्य थर गरेको साथी अहिले जापानमा छ । लामो समयपछि होला केही दिनअघि उसँग भिडियो कलमा कुरा भएको थियो । उसले भन्दै थियो, ‘अरे यार साथी जापानमै एउटी छे, अनि उतैको पनि दुई जनासँग चलिरहेको छ । हेरौं यीमध्ये पछिसम्म कुन ठिक हुन्छ त्यहीसँग बिहे गर्ने हो ।’
उसले आफ्ना तीनवटा गर्लफ्रेण्डका बारेमा बेलिविस्तार लगाउँदै थियो । तर कहानीले मेरो ध्यान तान्न सकेन । उसले भनिरह्यो मैले सुनेको जस्तोमात्रै गरे । पछि अलि वाक्क नै लाग्ने अवस्था बनेपछि काम छ भन्दै कल काट्ने निधो गरे ।
कल कट भएपछि एकछिन सोचे, ‘उसको अप्सन छ । एकै पटकमा तीनवटी कसरी घुमाउन सकेको होला ? जापानमा काम, पढाई अनि तीनवटी गर्लफ्रेण्डको व्यवस्थापन ? अहो.. साथी उस्ताद नै रहेछ ।’
अर्का एकजना गिरी थरका दाई दुबईमा छन् । उमेरले विहेबारी गर्न ढिलाभइसक्यो । तर पनि उनले अहिलेसम्म बिहे गरेका छैनन् । मैले दाई किन बिहे नगरेको भनेर सोध्छु कहिलेकाही । जवाफमा उनी ‘अझै केही कमाउन दे न केटा’ भन्छन् ।
तर उनलाई गर्लफ्रेण्डको कुनै कमि छैन । त्यो दाईलाई मैले चिनेको लामो समय भइसक्यो । तबदेखि नै उनी विदेशमा छन् । बेलाबेला नेपाल आउँदा मलाई भेट्ने गर्छन् । कतिपय अवस्थामा मेरोमा बस्ने पनि गर्छन् । फुर्सदमा सँगै घुम्न जाने पनि गरिएको छ । तर उनी र म जतिपटक घुम्न गएका छौं त्यतिपटक नै नयाँ गर्लफ्रेण्डसँग भेटाउने गरेका छन् । भन्छन्, ‘ऊ तेरो भाउजु हो ।’
अनि म दाईलाई सोध्ने गर्छु, ‘दाई तपाईका कतिजना गर्लफ्रेण्ड छन् ? उनी भन्छन्, अलिअलि त भइहाल्छन् नी केटा ।
यसो फेरि सोच्छु, ‘यो दाईले यति धेरैलाई कसरी फकाउनु भएको होला ? अनि यति धेरैलाई कसरी समय दिनसक्नु भएको होला ? सबै विदेशमा हुँदा चिजनान भएको भन्नुहुन्छ, काम चाहिँ कतिबेला गर्नुहुन्छ होला ? दाईकाे यत्तिका हुँदा मेरो चाहीँ किन एउटा पनि नभएको होला ?
अष्ट्रेलियामा अधिकारी थर गरेका अर्का साथी छन् । उनको पनि मैले चिनेजानेकै गर्लफ्रेण्ड छन् । ती अधिकारी साथीका अनुसार उनीहरु धेरै अगाडीदेखि चिनजानमा थिए रे । नेपाल हुँदा कयौंपटक बोलाउँदा पनि उनी पटक्कै बोल्दिन थिइन् रे । तर अष्ट्रेलियाको भिसा लागेको थाहा पाउन बित्तिकै मोबाइलमा एसएमएस आयो ‘बधाई छ’ । त्यसपछि उनले बल्ल भिसाको ताकत देखे । त्यो बधाई नै उनीहरुबीचको दोहोरो संवाद थियो । त्यसपछि निरन्तर कुरा हुन थालेको अहिले प्रेमको गहिरो सागरमा डुबुल्की हान्दैछन् रे ।
ती साथीलाई मैले एकदिन जिस्काउँदै सोधे, ‘होइन तपाईँहरुको लभ कसरी पर्यो ? पहिला नबोल्ने मान्छेसँग एक्कासी लभ परेछ । त्यसको जवाफ उनीसँग पनि छैन भन्छन् । ‘पहिलेदेखि आफुले मन पराएको मान्छे पाएको छु, यसमै खुशी छु ।’ उनले मसँग खुशी साटे ।
अन्य पनि थुप्रै यस्ता साथीहरु छन्, जो विदेशमा छन् । उनीहरुको पनि लभ परेको कहानी सुनेको छु । म भने उनीहरुको कहानी सुन्ने पात्रमै सीमित छु । जहिले अरुको कहानी सुन्दासुन्दा वाक्क लागिसक्यो । कहिलेकाही सोच्ने गर्छु, मेरो पनि लभ पर्यो भने तिमिहरुलाई लभ स्टोरी सुनाउँछु ।
अ.. साँच्चि, मैले यसो भनेको पनि धेरै बर्ष पो भइसकेछ । घरिघरि त सोच्छु, नेपालमा बसेर लभ कहानी सुनाउने मेरो सपना पुरा हुँदैन की क्या हो ? आखिर लभ पर्न विदेश नै जानुपर्ने हो त ?
प्रकाशित समय : १२:३० बजे




















