गृहपृष्ठ भारत–पाक तिक्तताले एसिया कप क्रिकेट श्रीलंका सर्ने तयारी
भारत–पाक तिक्तताले एसिया कप क्रिकेट श्रीलंका सर्ने तयारी
एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको छ ।
पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो । भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।
यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।
भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई०का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।
पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।
एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्न सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।
नेपालले पनि यस पटक एसिया कप खेल्दैछ । घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान पक्का गरेको नेपाल दुई ठूला राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा छ ।
भारत र पाकिस्तानसँग खेल्न नेपाल उत्सहित छ । तर भारत–पाकिस्तानकै विवादका कारण एसिया कप हुने कि नहुने वा कहाँ हुने नै अन्योलमा छ । फलतः स्वर्णिम सपना बोकेर सहभागि नेपाल भारतको अर्घेल्याइँका कारण खेल गुमाउने चिन्तामा छ ।
प्रकाशित समय : ०८:४९ बजे



















