nmb bank

गृहपृष्ठ ‘कोशी प्रदेश’ नामाङ्कनविरुद्धको आन्दोलनमा घाइते भएका लिम्बुको निधन, शहीद घोषणा गर्न माग

‘कोशी प्रदेश’ नामाङ्कनविरुद्धको आन्दोलनमा घाइते भएका लिम्बुको निधन, शहीद घोषणा गर्न माग

‘कोशी प्रदेश’ नामाङ्कनविरुद्धको आन्दोलनमा घाइते भएका लिम्बुको निधन, शहीद घोषणा गर्न माग

कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा लिम्बू घाइते भएका थिए ।

लाजेहाङ सुक्वाबा भनेर चिनिने उनको आज (शुक्रबार) बिहान निधन भएको हो । धरान–१५ घर भएका लिम्बूको बीपी प्रतिष्ठान अस्पतालबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहँदा निधन भएको हो ।

नामकरण विरुद्धको संयुक्त संघर्ष समितिले लिम्बूको हत्याको जिम्मा राज्यले लिनुपर्ने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै समितिले ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षड्यन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनुपर्दछ’, भनेको छ ।

४२ वर्षीय लाजेहाङ आन्दोलनरत दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बूवानको भ्रातृ संगठन ‘लिम्बूवान भोलेन्टियर्स’का केन्द्रीय सह–कमान्डर हुन् । तेह्रथुमको साब्लामा जन्मिएका उनको घर मोरङको लालभित्तीमा पर्छ । तर, पछिल्लो समय सुनसरीको धरान बस्दै आएका उनी गत १७ फागुनमा प्रदेश संसदको दुई तिहाइ बहुमतले ‘कोशी’ नाम राखेपछि भएको पहिचानको आन्दोलनको अग्रमोर्चामा थिए ।

सोही क्रममा ५ चैतमा प्रदेश राजधानी विराटनगरमा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको थिए । प्रहरीको लाठीचार्जले गम्भीर घाइते लाजेहाङको आज निधन भएको हो ।

प्रकाशित समय : ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु