गृहपृष्ठ अमेरिकाबाट पार्सल आयो ७ किलो गाँजा, भारतीयसहित तीन समातिए
अमेरिकाबाट पार्सल आयो ७ किलो गाँजा, भारतीयसहित तीन समातिए
अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो । पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा ४.५ किलो र अर्काेमा २.४ किलो गाँजा फेला परेको ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए । उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ ।
अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट ४.५ किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट भारतीय अधार कार्ड र रु ८० हजार बरामद गरिएको छ । उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको एसपी जोशीले जानकारी दिए ।
यस्तै अर्काे घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा २.४ किलो गाँजा बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी जोशीले बताए । यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २०:४५ बजे




















