गृहपृष्ठ प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा आउँदै
प्रधानमन्त्री दाहाललाई भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव क्वात्रा आउँदै
निर्वाचनपछि बनेको नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतसँगको निम्तो दिन भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार क्वात्राले सोमबार र मंगलबार नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।
परराष्ट्र स्रोतका अनुसार भारतीय विदेश सचिव क्वात्रा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको निमन्त्रणाका साथै द्विपक्षीय भेटवार्ताका लागि काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य गरे पनि मिति भने टुंगो लगाइसकेको छैन ।
नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस. जयशंकरका विश्वासिला पात्र हुन् । प्रधानमन्त्री दाहालले पनि आफू पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो भ्रमण भारत हुने उल्लेख गरेका थिए ।
प्रधानमन्त्री दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा आफ्नो पहिलो विदेश भ्रमणका रूपमा चीन गएका थिए भने दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत नै पहिलो भ्रमण गरे । भ्रमणका अवसरमा क्वात्राले नेपालका आफ्ना समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यलसँग परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक गर्ने पनि कार्यक्रम रहेको छ । सचिवस्तरीय संयन्त्रको पछिल्लो बैठक २०७८ भदौ २८ र २९ मा नयाँ दिल्लीमा बसेको थियो । त्यसपछि सोमबार फेरि बस्न लागेको हो ।
विदेश सचिव क्वात्राले भ्रमणका दौरानमा राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री विमला राई पौड्याल तथा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बतायो ।
प्रकाशित समय : १०:५३ बजे




















