global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाइँदै

रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाइँदै

रवि लामिछानेको पासपोर्टबारे प्रमाण संकलन सुरु, तीन निकायबाट कागजात झिकाइँदै

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो ।

‘हामीले आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा उहाँको बारेमा विस्तृत विवरण मगाएका छौं’ सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलले भने, ‘उहाँ (युवराज पौडेल सफल)ले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुन्छ । तीनवटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाउने योजना छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए । सरकारी वकिलले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।

लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिए ।

लामिछाने नेपाल फर्किदा अमेरिकाको नागरिकता त्यागेका थिएनन् । १३ माघ २०७९ मा सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने भनी व्याख्या गरेको थियो । ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली पासपोर्ट लिएकोले उनीमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।

पासपोर्ट लिने बेलामा फारम भर्दा आफ्नो नागरिकता खुलाउनुपर्छ, जसमा लामिछानेले अमेरिकी नागरिकता लुकाई आफू नेपाली नागरिक रहेको भनी नेपाली पासपोर्ट लिएका थिए । करिव ३ वर्ष १ महिनासम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट साथमा राखेका थिए । ४ जेठ २०७५ मा अमेरिकी नागरिकता त्याग्ने निवेदन दिएका उनले ४० दिनपछि मात्रै त्यो प्रक्रिया पूरा भएको पत्र पाएका थिए ।

एक सरकारी वकिलका अनुसार तीन निकायमा लामिछानेबारे फरक फरक विवरण मागिएको छ । राहदानी विभागमा पठाएको पत्रमा २८ वैशाख २०७२ मा लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएको हो कि होइन भनी सोधिएको छ । जिल्ला प्रशासन कार्यालयमा २८ वैशाख २०७२ मा रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र कायम थियो कि थिएन भनी विवरण खुलाएर पठाउनु भनिएको छ ।

सरकारी वकिल कार्यालय, काठमाडौंले अध्यागमन विभागलाई २८ वैशाख २०७२ मा लामिछानेले लिएको ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएपछि विदेश भ्रमण गरेरनगरेकोवारे विवरण पठाउन भनेको छ ।

आफूविरुद्ध दोहोरो पासपोर्ट लिएको आरोप लागेपछि लामिछानेले त्यसलाई स्वीकारेका थिए, तर आफूले त्यो पासपोर्ट कहिल्यै प्रयोग नगरेको दाबी गरेका थिए । उनले २०७२ सालको पासपोर्ट केही दिनअघि मात्रै राहदानी विभागमा फिर्ता गरेका थिए । तर जाहेरीमा भएको व्यहोरा अनुसार, उनी दोहोरो पासपोर्ट लिएकै अवस्थामा नेपाली पासपोर्ट प्रयोग गरी संयुक्त अरव इमरेट्स, दक्षिण कोरिया र जापान पुगेका थिए ।

प्रकाशित समय : ०७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु