global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पोखरामा दोस्रोपटक पनि देखियो पुतलीबाट सर्ने ‘सापु’ रोग

पोखरामा दोस्रोपटक पनि देखियो पुतलीबाट सर्ने ‘सापु’ रोग

पोखरामा दोस्रोपटक पनि देखियो पुतलीबाट सर्ने ‘सापु’ रोग

वर्ष बिराएर देखापर्ने सापु रोग पोखरामा अघिल्लो वर्षसँगै यस वर्ष पनि देखा परेको छ । अन्य समय साउन वा भदौको सातामा देखिने यो रोग अहिले गत वर्षको चैतबाट देखिएको हो ।

विशेष गरी सेतो पुतलीको झुसका कारण आँखामा लाग्ने सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) रोगको समयमै उपचार नगराए आँखाको ज्योति गुम्ने सक्ने चिकित्सकहरु बताउँदै आएका छन् । केही समयअगाडि १६ वर्षीया एक बिरामीलाई हिमालय आँखा अस्पताल पोखराले काठमाडौ रेफर गरेको थियो । त्यस्तै, पोखरा- ३२ की २१ वर्षीया सीता खड्कालाई वैशाख २४ गतेदेखि आखामा समस्या आयो । उनको अप्रेसन भए पनि आँखा निको चाहिँ भएन ।

घटना फरक-फरक भए पनि दुवैमा सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) भएको हो । हिमालय आँखा अस्पताल पोखराका प्रमुख निर्देशक डा. इन्द्रमान महर्जनका अनुसार पहिलो बिरामी चैत २७, त्यसपछि वैशाख २६, जेठ ९ र जेठ १४ गते गरी ४ जना बिरामी यो समस्या लिएर अस्पताल पुगेका छन् । बिरामीहरु स्याङ्जा, कास्की, बागलुङ र पर्वतका रहेका छन् ।

यस रोगबाट धेरै व्यक्तिहरु पीडित रहेको छन् । अन्य समय बच्चामा मात्र देखिने यो रोग बढी उमेरका व्यक्तिमा पनि देखिन थालेको छ । सबैभन्दा बढी उमेरका २८ वर्षीय पुरुष भने उपचारपछि फर्किसकेका छन् ।

४५ वर्ष पहिले २०३२ सालमा पोखरामा नै पहिलोपटक यो रोग देखा परेको थियो । त्यसबेला पोखराको लामाचौरमा यो रोग देखिएको थियो । यस वर्ष सापु छिटो भेटिएको डा. महर्जनले बताए । उनले भने, ‘गएको वर्ष मात्र ३५ जना यो समस्या लिएर हिमालय आँखा अस्पताल पुगेका थिए । त्यसमध्ये अधिकांशको ज्योती गुमेको थियो । यसरी रोग देखिए पनि कतिलाई यसको बारेमा थाहा पनि छैन ।’

डा. महर्जनका अनुसार यो रोग लागेपछि आँखा चिलाउने, दुख्ने, रातो हुने, उज्यालोमा हेर्न नमिल्ने, परेला सुनिन थाल्नेजस्ता समस्या देखा पर्छन् । हरेक रङका पुतलीबाट यो रोग नसर्ने उनले बताए । विशेषगरी भदौदेखि मंसिरसम्म देखा पर्ने सेतो पुतलीको संक्रमण कहिलेकाहीँ अरु महिनामा पनि देखिन्छ ।

सुरुवातका वर्षमा १/२ जनामा सापुको संक्रमण देखिए पनि अहिले वार्षिक ६० देखि ७० जना यसबाट प्रभावित हुने गरेका छन् । हिमालय आँखा अस्पतालले गत वर्ष मात्र यस रोगका ३५ जनाको उपचार गरेको थियो ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु