गृहपृष्ठ ‘प्रहरीले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्छ’
‘प्रहरीले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्छ’
प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा आइजीपी सिंहले उक्त कुरा बताएका हुन् । निर्देशनको क्रममा आइजीपी सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस: पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभभन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताए । सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमीबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न समेत उनले निर्देशन दिए ।
आइजीपी सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज र सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउनेतर्फ प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताए । आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न, प्रकोपमा उद्दार कार्य गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने उल्लेख गर्दै आइजीपी सिंहले आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुदिप गिरीलगायत प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १२:३७ बजे



















