गृहपृष्ठ प्रधानमन्त्री बन्ने को होला ?

प्रधानमन्त्री बन्ने को होला ?

‘उपयोगवादी’ प्रचण्डको च्याखेँ दाउ, भविष्यवाणीको भरमा दोहोरिने देउवा दाउ र प्रचण्डलाई फुस्ल्याएर घर न घाटको बनाउने ओली दाउ !

प्रधानमन्त्री बन्ने को होला ?

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने भनिएको थियो । एक घण्टा ढिलो गरेर बैठक बस्यो । तर, कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने संशय बैठकले हटाएको छ । बैठकपछि शीर्ष नेताले हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै ‘निर्वाचनले राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको’ बताए ।

विज्ञप्तिमार्फत सत्ता गठबन्धन थप एकतावद्ध भएर अघि बढ्ने जनाइको छ । तर, गठबन्धनको बैठक बस्नुअघि प्रचण्डसँग एमालेका सचिव रघुवीर महासेठको भेट, माओवादीमा देखिएको भिन्न मतलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । जसको पहिलो सुरुवात एमाले अध्यक्ष ओलीको फोन हो ।

४ मंसिरमा सम्पन्न मतदानको परिणाम आउन बाँकी नै थियो । त्यसको ठिक चार दिनपछि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई फोन गरे । अध्यक्ष ओलीले गरेको ‘त्यो टेलिफोन’ गोरखा–२ बाट निर्वाचित प्रचण्डलाई बधाई दिनका लागि मात्रै थिएन, ‘मिलेरअघि बढौँ, वामहरुको सरकार गठन गरौँ’ भन्ने आग्रह थियो ।

दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्ष ओली–प्रचण्डको ‘फोन संवाद’ एकाएक सर्वत्र चासोको विषय बन्यो । सायद, नेकपा टुक्रिएपछिको पहिलोसंवाद भएर होला ।

त्यसयता माओवादी केन्द्र र एमालेका प्रभावशाली कमरेडहरुको अभिव्यक्ति पनि त्यसरी नै देखा परिरहेका छन्,  उनीहरु भन्दै छन्, ‘वामपन्थी दलबीच गठबन्धन हुने विकल्प पनि खुल्ला छ ।’

माओवादीमा दुई मत

माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले सरकार गठन गर्ने विषयमा सबै विकल्प खुला भएको बताए । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले गरेको निर्णय सुनाउँदै महराले उक्त सरकार गठनमा विकल्प खुला रहेको जानकारी दिएका हुन् ।

तर, माओवादी केन्द्रकै नेताको मत विभाजित भएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङभने गठबन्धनको विकल्प नभएको बताउँछन् । आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठकको जानकारी दिँदै हालको सत्ता गठबन्धन तोड्ने पक्षमा माओवादी केन्द्र नभएको जिकिर गरे ।

सरकार गठनबारे पदाधिकारी बैठकमा छलफल भएको हो ? एमालेसँग गठबन्धन गर्ने सम्भावना के छ ? भन्ने प्रश्नमा जवाफ दिँदै महासचिव गुरुङले सरकार गठनबारे ‘पदाधिकारी बैठक’मा उल्लेखनीय रुपमा विषय प्रवेश नभएको बताए । उनले थपे, ‘एमालेसँग गठबन्धन गर्ने विषय प्रवेश नै भएको छैन । अहिले गठबन्धन नै रहेकाले विकल्पका बारेमा कुरा भएको छैन ।’ गठबन्धनमा विमति पैदा भएको अवस्था छैन, अहिले माओवादी केन्द्रले गठबन्धनको विकल्प नसोचेको महासचिव गुरुङको भनाइ छ ।

तर, अध्यक्ष प्रचण्ड र ओलीको संवादले शंका उत्पन भने भएको छ । यद्यपी, अध्यक्ष प्रचण्ड छलफलमै छन् ।

ओलीसँग नमिल्न बाबुरामको रातो बत्ती

चुनावपछि प्रचण्डले जनयुद्धका सहयात्री डा. बाबुराम भट्टराईसँग समेत सरकार गठनबारे वार्ता गरेका छन् । भट्टराईले ओलीसँग सहकार्य सहज रुपमा नहुने प्रचण्डलाई सुझाएको भट्टराईको सचिवालयले जनाएको छ ।

भट्टराईसँग प्रचण्डको सरकार गठनबारे लामै छलफल भयो । सरकारमा जानुअघि नै माओवादी र नेसपा एकता गर्ने आदि विषयबारे छलफल भएको थियो । त्यहीँ छलफलमा सरकार गठनबारे प्रचण्डलाई ‘रेडिमेट अप्सन’ दिएर फेरि भेट्ने कबुल गर्दै भनेका थिए, ‘ओलीसँग सहकार्य गर्दा कति विचार पुर्‍याउनुपर्छ ? यसको गतिलो उदाहरण विगत पनि हो ।’

अस्थिर प्रचण्डमाथि ओली चाल

के अध्यक्ष प्रचण्ड पाँचदलीय सत्ता गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्लान् ?या ओलीसँग ०७४ मा जस्तै वाम–गला जुँधाउलान् ? अनिके ०७५ मा जस्तै फेरि बालुवाटरमा बिरुवामा ओलीसँग पानी हाल्लान् ? ओलीले प्रचण्डसँग संवाद गर्नुको रहस्य के हो ? प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिने ओलीको स्वार्थ के हो ? यावत प्रश्नहरु एकैपटक उब्जिएका छन् ।

०७४ फागुन ३ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समर्थनमा केपी शर्मा ओली देशको प्रधानमन्त्री भए । ओलीले इतिहासमा प्राप्त नगरेको बहुमत प्राप्त गरे । १७४ सांसदको समर्थन ओलीलाई भयो । त्यतिबेला एउटै सन्देश दिइयो, ‘विकासको ढोका खुल्यो ।’

माथिदेखि तलसम्म सबै तहमा वाम गठबन्धनले वर्चश्व जमायो । यतिले मात्रै पुगेन,ओली प्रचण्डलाई । एमाले र माओवादीबीच एकतानै गरेर देशको नेतृत्व गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो ।

०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकताको घोषणा भयो । दुई अध्यक्ष, आलोपालो सरकारको नेतृत्व गर्ने सहमति समेत भयो । भनियो, ‘विकास भनेको यसरी मिलेर गरिन्छ ।’ तर, के गर्नु कुर्सीका लागि बीसौँ वर्ष शासन सत्ता कम्युनिस्टको हातमा हुन्छ भन्नेहरु तीन वर्ष नपुग्दै ‘बोली बदलेर’ सडकमा भाषण गर्न पुगेको जनताको मस्तिष्कमा ताजै छ ।

दुईतिहाइ बहुमत पाएका प्रधानमन्त्रीले दुईपटक प्रतिनिधिसभा विघटन मात्रै गरेनन् संविधानमाथि प्रहार समेत गरे । जुन अहिले पनि ‘प्रचण्ड’हरुको, चलनचल्तीको बोली नै भएको छ ।

त्यो घाउ आलै छ । फेरि ओलीले प्रचण्डसँग संवाद गर्नु, मिलेर अगाडि बढौँ भन्नुको अर्थ के हो ?पुनः संसद्लाई चिराचिरा पारेर सडकमा नारा लगाउन ?

यस्तो दृष्टान्तलाई भुलेर प्रचण्डले राजनीतिमा ‘जे पनि जायज’ छ भन्ने भाष्य पछ्याउँदै पाँच दलीय गठबन्धनलाई भत्काएर एमालेसँग गठबन्धन गरे आश्चर्य हुने छैन । केही महिनाका लागि देशको प्रधानमन्त्री उनी नै बन्नेछन् ।

त्यस्तो भएमा ओलीको पहिलो योजना सफल हुनेछ कि, ‘प्रचण्डलाई प्रधानमन्त्री दिएर एमालेबाट फेरि राष्ट्रपति बनाउने, सभामुख लगायत एमालेको पोल्टामा हाल्ने, प्रचण्डलाई प्रधानमन्त्री लगायत केही थान मन्त्री दिने, केही महिनापछि अर्को चाल चल्ने मुडमा ओली छन् ।

होइन भने प्रचण्डले प्रधानमन्त्रीको कुर्सी मात्रै हेर्ने छैनन् केही समयपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारको नेतृत्वबारे पनि गहिरिनुपर्ने छ ।

गठबन्धनकै सरकार बन्न सक्ने

अंकगणित हेर्दा यो चुनावबाट कसैले बहुमत प्राप्त गरेनन् । यसको अर्थ दलहरु मिलेर नै सरकार गठन गर्नेछन् । हालकै सत्ता गठबन्धन कायम रहे गठबन्धनकै नेतृत्वमा सरकार गठन हुनेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १३८ जना सांसदको समर्थन भए साधारण बहुमत पुग्छ र सरकार गठन हुन्छ ।१६५ प्रत्यक्षतर्फ सबै सिटको नतिजा आइसकेको छ । समानुपातिकतर्फ पनि कसले कति सिट पाउँछ भन्ने तस्विर पनि प्रष्ट भइसक्यो ।

यसपटक निर्वाचनको गणितले पनि गठबन्धनलाई साथ दिएको छ । लडाई अब कांग्रेस र माओवादीबीच सरकार प्रमुखका लागि सिंहदरबारको कुर्सीमा को पुग्नेमा केन्द्रित छ । सिंहदरबारको ग्यालरीमा प्रधानमन्त्रीको रुपमा फेरि कसको फोटो टाँसिने हो ? नेपाली राजनीतिको कौतुहल यतिमात्र हो ।

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु