global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डलरको भाउ १३२ रुपैयाँ नाघ्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

डलरको भाउ १३२ रुपैयाँ नाघ्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

डलरको भाउ १३२ रुपैयाँ नाघ्यो, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.०२ रुपैयाँ तथा खरिद दर १३१.४२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो दुई महिनायता डलर निरन्तरजसो उकालो लागिरहेको छ ।

शुक्रबार र शनिबार नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको हो ।

एक साता अघि (दसैं बिदा सुरु हुनुअघि) एक अमेरिकी डलरको बिक्री दर १३१.४१ रुपैयाँ पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको डलर त्यसयता फेरि उकालो लाग्न थालेको छ ।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ बढेको हो । डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको जानकार बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

शनिबार दिउँसो ३ बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८२.८३ पुगेको छ । गत शनिबार यस्तो दर भारु ८२.११ रहेको थियो । पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको छ ।

प्रकाशित समय : ०७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु