global ime bank Long Banner Ad

गृहपृष्ठ उपत्यकामा डेंगुको संक्रमण बढ्दो

उपत्यकामा डेंगुको संक्रमण बढ्दो

उपत्यकामा डेंगुको संक्रमण बढ्दो

काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई-मधेश तथा पहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ ।

विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेंगु ज्वरोका बिरामी बढिरहेका छन् । यसपटक काठमाडौंमा डेंगुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकिय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।

अस्पतालमा चिकित्सकसहित धेरै डेंगुका बिरामी भर्ना भएको बताए । ‘यहाँ दैनिक डेंगुका बिरामी भर्ना भइरहेका छन्’, उनले भने,’घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।’ विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ ।

नेपालमा २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता डेंगुको संक्रमण देखिँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगु बढेको बताउँछन् । त्यसपछि अहिले नै डेंगुका बिरामी बढेको उनको भनाई छ । बीचका वर्षमा पनि डेंगुका फाट्टफुट्ट बिरामी भेटिइरहे ।

तराई-मधेशमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौं जस्ता पहाडी सहरमा पनि देखा पर्यो । ‘उपत्यकामा लामखुट्टे बढेको र डेंगुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्’, उनले भने, ‘ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेंगुका बिरामी बढी देखिएका हुन् ।’

निजामति कर्मचारी अस्पतलाका निर्देशक डा. विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म १९ बिरामीको उपचार भइसकेको जानकारी दिए । उनका अनुसार आज पनि आठ जना बिरामीको उपचार भइरहेको छ । अस्पतालले डेंगुबाट बच्नका लागि सबै शैयामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । ‘तापक्रम बढेसँगै अहिलेको मौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी’ र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टको टोकाइले डेंगु रोग लाग्दछ’, उनले भने, ‘उपत्यकामा पहिले भन्दा अहिले तापक्रम बढेकाले धेरै बिरामी देखिएका हुन ।’

उनका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुको संक्रमण जोखिम बढी हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा.बाँस्तोलाका अनुसार समुदायस्तरमा १० हजार मानिस डेंगुबाट संक्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेंगु ज्वरोका लक्षण देखिन्छन् ।

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । डेंगु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् ।

यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. बिमल चालिसेका अनुसार अस्पतालमा अहिले २२ जना डेंगुका बिरामीको उपचार भइरहेको छ । उनले अहिलेको मौसम नै पानी जम्ने र उक्त पानीमा लामखुट्टे बढी फैलिने भएकोले डेंगको संक्रमण देखिएको बताए ।

उनले डेंगु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेंगु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको जानकारी दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जनामा डेंगुका बिरामी देखिएको छन् ।

जेठयता काठमाडौंमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेंगुका बिरामी भेटिएका छन् । साउनमा मात्रै काठमाडौंमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उनले जानकारी दिए ।

एकैठाउँ जमेर रहेको संलो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु