गृहपृष्ठ झलनाथ खनाल भन्छन्– निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ
झलनाथ खनाल भन्छन्– निर्वाचनलगत्तै माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छ
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताएका छन् ।
जिल्ला पार्टीले सोमबार तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिए ।
नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले स्पष्ट पारे । नेपालमा एक सबल कम्युनिस्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिस्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उनको भनाइ छ ।
मंसिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए ।
कम्युनिस्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उनले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिस्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताए ।
प्रकाशित समय : २२:२८ बजे



















